अडानी बन्दरगाह परियोजना जारी रहने श्रीलङ्काको भनाइ



कोलम्बो ।  श्रीलङ्कामा भारतीय अडानी समूहको बन्दरगाह परियोजना यसका संस्थापकविरुद्ध अमेरिकी आरोप र यसको वित्तपोषणमा अचानक परिवर्तनको बावजुद अगाडि बढ्ने श्रीलङ्काले बताएको छ।

गत महिना न्यूयोर्कमा अर्बपति उद्योगपति गौतम अडानी र उनका सहकर्मीले जानाजानी अन्तर्राष्ट्रिय लगानीकर्तालाई प्रभावित पारेको आरोप लगाइएको थियो।


यो आरोपले अडानीको कम्पनीको शेयरमा व्यापक गिरावट आएको थियो भने र पारिवारिक फर्मको ‘कर्पोरेट गभर्नेन्स’मा प्रश्न उठाएको थियो।

श्रीलङ्काका बन्दरगाहमन्त्री विमल रत्नायकेले अडानीमाथि लागेको आरोपले राजधानी कोलम्बोमा रहेको कन्टेनर टर्मिनल परियोजनामा कुनै असर नपारेको बताएका छन्।

“अडानी र अमेरिकाबीचको समस्या के हो, हाम्रो चिन्ताको विषय होइन,” बिहीबार राति बन्दरगाहको भ्रमणका क्रममा उनले भने।

उनले भने, “अडानीद्वारा पश्चिमी कन्टेनर टर्मिनल विकास अगाडि बढ्नु हाम्रो लागि उच्च महत्वको कुरा हो।” रत्नायकेका अनुसार सन् २०२२ मा अभूतपूर्व सङ्कट र विदेशी ऋण नतिरेपछि समस्यामा परेको श्रीलङ्काको अर्थतन्त्रका लागि राजस्व सङ्कलन गर्न यो परियोजनाको निर्माण हुनु महत्त्वपूर्ण छ।

बन्दरगाह परियोजनाको अनुमानित लागत ७० करोड अमेरिकी डलर रहेको छ र यो चिनियाँद्वारा सञ्चालित परियाजनाको नजिकमा अवस्थित छ।

अडानी समूहले न्युयोर्कको अभियोगपछि अमेरिकी सरकारद्वारा समर्थित ५५ करोड ३० लाख अमेरिकी डलर को ऋणका लागि गरेको अनुरोध फिर्ता लिएको केही दिनपछि रत्नायकेको यो टिप्पणी आएको हो।

अमेरिकी अन्तर्राष्ट्रिय विकास वित्त निगम (डीएफसी) सँगको ऋण सम्झौतालाई गत वर्ष अन्तिम रूप दिइएको थियो, यस परियोजनालाई हिन्द महासागरमा बेइजिङको बढ्दो प्रभावको सामना गर्ने माध्यमको रूपमा हेरिएको थियो।

श्रीलङ्का विश्वको सबैभन्दा व्यस्त सामुद्रिक ढुवानी मार्गमा अवस्थित छ, जसले मध्य पूर्व र पूर्वी एशियालाई जोड्छ र देशको समुद्री सम्पत्तिलाई रणनीतिक महत्व दिन्छ।

अडानी समूहले अब यो परियोजनाका लागि आफ्नै कोषबाट लगानी गर्ने बताएको छ। श्रीलङ्काले गत महिना अभियोग लगाएपछि उक्त बन्दरगाह र टापुको उत्तरमा ४४ करोड २० लाख अमेरिकी डलर बराबरको वायु ऊर्जा सम्झौतासहित समूहको स्थानीय परियोजनामा अनुसन्धान सुरु गरेको थियो।

नयाँ बामपन्थी राष्ट्रपति अनुरा कुमारा दिसानायकेले नोभेम्बरमा भएको चुनावमा भारी मतले विजयी हुनुअघि वायु उर्जा परियोजनाको विरुद्धमा अभियान चलाएका थिए । बन्दरगाह मन्त्री रत्नायकेले पनि आफ्नो सरकार यसको विपक्षमा रहेको बताए।

रत्नायकेले भने, “यो देशलाई अहितकर हुनेछ।” दिसानायकेले यो परियोजनालाई श्रीलङ्काको ऊर्जा सम्प्रभुताका लागि खतरा को संज्ञा दिएका थिए। अडानी समूहका संस्थापक र अन्य वरिष्ठ अधिकारीहरूले भारत सरकारका अधिकारीलाई घूस दिएको आरोप लागेपछि अडानी समूहले सेयर बजारमा करिब ५५ अर्ब अमेरिकी डलर गुमाएको जनाएको छ।

कोइला, एयरपोर्ट, सिमेन्ट र मिडियाको व्यापार साम्राज्यको साथ, अडानी समूहले पहिलेका कर्पोरेट धोखाधडीको आरोपहरूको सामना गरेको छ र गत वर्ष पनि यस्तै आरोपको सामना गरेको छ। सन् २०२३ मा ह्यान्डेनबर्ग रिसर्चको एक रिपोर्टले ‘कर्पोरेट फ्रड’को आरोप लगाएपछि सन् २०२३ मा यसको शेयरको बजार मूल्यबाट १५० अर्ब अमेरिकी डलर कम भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here