काजकिस्तान । अजरबैजानको पश्चिमी काजकिस्तानमा बुधबार भएको विमान दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको अधिकारीहरुले जनाएका छन् । तर केही उड्डयन तथा सैन्य विशेषज्ञहरूले युक्रेनी ड्रोन गतिविधिको रिपोर्ट गरिएको क्षेत्रमा उडिरहेको बेला विमानलाई रूसी हवाई प्रतिरक्षा प्रणालीले गल्तीबस लागेकोे हुन सक्ने बताएका छन् ।
रूसी अधिकारीले घटनाबारे ‘अड्कलबाजी’ भन्दा अनुसन्धानमा आधारित भएर प्रतिक्रिया जनाउन आग्रह गरेका छन् । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, “हामीले अनुसन्धानको अन्त्यसम्म पर्खनु आवश्यक छ ।”
काजकिस्तानका सभामुख माउलेन आशिम्बायेभलाई उदृत गर्दै रूसी समाचार संस्था (तास) ले विमानमा के कारणले क्षति पुगेको हो भनेर एकीन भइनसकेको उल्लेख गरेको छ ।
“विशेषज्ञहरूले यी सबै घटनाहरूको अनुसन्धान गरिरहेका छन् र छिट्टै आफ्नो निष्कर्ष निकाल्नेछन्। काजकिस्तान, रूस र अजरबैजानले पनि सूचना लुकाउन चाहेने छैनन्, यसलाई सार्वजनिक गरिनेछ,” उनले भने ।
–‘एन्टी एयरक्राफ्ट मिसाइल सिस्टम’ले लागेको हुनसक्ने आशङ्का–
रूसी सैन्य विज्ञ युरी पोडोल्याकाले विमानको भग्नावशेषमा देखिएको प्वाल ‘एन्टी एयरक्राफ्ट मिसाइल सिस्टम’ले पु¥याएको क्षतिसँग मिल्दोजुल्दो रहेको बताए ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, “सबै कुराले यही सङ्केत गर्छ।” अजरबैजान एयरलाइन्सले सुरुमा उक्त विमान चराको बथानको बीचमा पुगेको बताएको थियो ।
विमानमा ६२ यात्रु र चालक दलका पाँच सदस्य गरी ६७ जना सवार रहेको एयरलाइन्सले जनाएको छ । काजकिस्तानका उपप्रधानमन्त्री कानत बोजुम्बायेभले ३८ जनाको मृत्यु भएको तीन बालबालिकासहित २९ जनालाई अस्पताल भर्ना गरिएको बताएका छन् ।