काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले केपी शर्मा ओली सरकारविरुद्ध देशैभर भण्डाफोर कार्यक्रम गर्ने निर्णय गरेको छ ।
पार्टी कार्यालयमा मङ्गलवार बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले वर्तमान सरकारका कारण भ्रष्टाचार संस्थागत हुनुका साथै मुलुक अस्तव्यस्त भएको निष्कर्ष निकाल्दै देशभरका सातवटै प्रदेशका साथै अन्य तहमा सरकारविरुद्ध भण्डाफोर र विरोध कार्यक्रम गर्ने निर्णय गरेको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।
ठुला दल मिलेर बनेको सरकारले जनतामा आशा जगाउन नसकेको उनले बताए । त्यस्तै उनले सरकारले अर्थतन्त्र चलानमान गराउन नसकेको, अन्तर्राष्ट्रिय सम्बन्धमा समेत असन्तुलित परराष्ट्र नीतिका कारण नेपाल भूराजनीतिक चक्रव्यूहमा फस्न जाने खतरामा पुगेको निष्कर्ष बैठकले निकालेको जानकारी दिए ।
बैठकमा पार्टीको आन्तरिक जिल्ला अधिवेशन तयारीको समीक्षा गरिएको लिङ्देनले बताए । बैठकले सहकारी पीडितहरूको बचत फिर्ताको सुनिश्चितता गर्न र बचत फिर्ताको माग गर्दै आन्दोलन गरेकामाथि सरकारले गरेको दमन तुरुन्त रोक्न पनि माग गरेको छ ।