सभ्य समाजका लागि धार्मिक गतिविधि आवश्यक : प्रदेश प्रमुख भट्ट



गण्डकी । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले ‘सभ्य र सुसंस्कृत समाज निर्माणका लागि धार्मिक गतिविधि आवश्यक भएको बताएका छन् ।

पोखरा महानगरपालिका–१५ स्थित ढुङ्गेसाँघुको पट्नेरीमा अवस्थित अन्नपूर्णेश्वर शिवालय मन्दिर परिसरमा ऐतिहासिक शुक्लागण्डकी कोटिहोम २०८१ को आज उद्घाटन गर्दै उनले ‘स्वच्छ एवं नैतिक समाज निर्माण गर्न अनुशासन आवश्यक हुने र अनुशासन धर्मले सिकाउने बताए ।


“धर्म, अध्यात्म र साधना भनेको हाम्रो समाजका ऐना हुन्”, उनले भने, “जसले असल समाज निर्माण गर्ने बाटोमा अगाडि बढाउँदछन् । असल संस्कार र संस्कृति मुलुक समृद्धिका आधार हुन् ।”

असल कर्म गर्नु नै धर्म रहेकोमा जोड दिँदै उनले जुनसुकै धर्मको सार नै असल कर्म भएकाले मानव हुनुका नाताले सर्वधर्म समभावको भावनाले अघि बढ्नुपर्ने आवश्यकता औङ्ल्याए ।

धार्मिक पर्यटनको विकासका लागि शुद्ध मनबाट यस्ता सत्कर्मका प्रयास आवश्यक रहनेमा जोड दिँदै उनले विश्वका कयौँ देशले धार्मिक पर्यटनबाटै विकासमा फड्को मारेको उल्लेख गरे ।

पर्यटन प्रवर्द्धनको लक्ष्यसँगै मन्दिर उद्घाटन, प्राण प्रतिष्ठा, लघु रुद्रीसहितको विराट धनधान्याञ्चल कोटी होम, कोटी दीप प्रज्वलन, पितृ उद्धार, भक्तिज्ञान महायज्ञ गर्न लागिएको मन्दिरका अध्यक्ष मदन गिरीले जानकारी दिए ।

विगतमा पनि साधुसन्त महन्त सिद्ध पुरुषले यसै स्थानमा कोटीहोम लगाएको र अहिले करिब ३१ वर्षपछि यस स्थलमा विभिन्न उद्देश्यका साथ महायज्ञ आयोजना गरिएको जनाइएको छ ।

ज्येष्ठ नागरिक मिलन केन्द्र भवन निर्माण, सेती नदीमा स्नान गर्न जाने १०८ सिँढी निर्माण, १०८ गौमुखी धारा निर्माण, १०८ शिवलिङ्ग स्थापनालगायतका विभिन्न उद्देश्य राखिएको महायज्ञमा प्रमुख वाचक, संरक्षक तथा यज्ञ सङ्कल्पकर्ता शोभाकान्त ढकाल (कृपालु दास) जीलगायतको कथा वाचन हुने गिरीले जानकारी दिए ।