कोलम्बो । श्रीलङ्का नौसेना द्वारा पक्राउ परेका २१ जना भारतीय मछुवाहरूलाई सफलतापूर्वक स्वदेश फिर्ता गरिएको भारतीय उच्चायोगले जनाएको छ ।
कोलम्बोमा रहेको भारतीय उच्चायोगले सोमबार सामाजिक सञ्जाल ट्वीटरमा एक पोस्ट साझा गरेको छ, “श्रीलङ्काबाट २१ भारतीय मछुवाहरूको समूह सफलतापूर्वक स्वदेश फिर्ता गरिएको छ । तिनीहरू हाल घर फर्कने क्रममा छन् ।” यसअघि डिसेम्बर ८ मा श्रीलङ्काको नौसेनाले रामनाथपुरमको तटबाट आठ भारतीय मछुवा र दुईवटा डुङ्गा कब्जामा लिएको थियो ।
पक्राउ पर्नेमा रामानाथपुरमका मङ्गाडु भत्रप्पन (५५), रेड्डीयुरानी, कन्नन (५२), चिन्ना रेड्डीयुरानी मुथुराज (५५), अगस्तियार कुतम काली (५०) र थङ्गाचिमाड यासिन (४६) येशू, उचिपुल्ली रामकृष्णन रहेका छन् ।
श्रीलङ्काली नौसेनाले भारतीय मछुवाको गिरफ्तारी तमिलनाडु सरकार र भाजपा नेतृत्वको केन्द्र सरकार दुवैका लागि चिन्ताको विषय बनेको छ । तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले यस विषयमा विदेशमन्त्री जयशङ्करलाई पटकपटक पत्र लेखेका छन् ।
सीएम स्टालिनले माछा मार्नेहरूलाई हिरासतमा लिनु र उनीहरूको डुङ्गा जफतले तटीय समुदायहरूमा गम्भीर सङ्कट र अनिश्चितता सिर्जना गरेको बताएका छन् । “हाम्रा माछा मार्नेहरूलाई थुनामा राख्ने र तिनीहरूको डुङ्गा जफतले तटीय समुदायहरूमा गम्भीर पीडा र अनिश्चितता निम्त्याएको छ । मैले बारम्बार दोहो¥याएको छु कि कूटनीतिक तवरले यो समस्या समाधान गर्न ठोस र सक्रिय कदम चाल्नु पर्छ,” उनले थपे ।
उनको पत्रको जवाफ दिँदै जयशङ्करले यस मुद्दामा सक्रिय कारबाही गर्ने आश्वासन दिए । कोलम्बोमा रहेको भारतीय उच्चायोग र जाफनास्थित महावाणिज्य दूतावासले हिरासतमा रहेका व्यक्तिहरूको चाँडो रिहाइका लागि ती मुद्दाहरू द्रुत र निरन्तर रूपमा उठाइरहेका छन् ।