मुम्बई। मुम्बईको कुर्ला पश्चिम एसजी बर्वे रोडमा सोमबार राति बसले पैदलयात्री र सवारी साधनलाई ठक्कर दिँदा कम्तीमा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बस अंधेरी तर्फ जाँदै गर्दा कुर्ला पश्चिममा दुर्घटना भएको थियो ।
प्रहरी उपायुक्त गणेश गावडेले पत्रकारहरूलाई भने,“कुर्लामा बेस्ट बसले नियन्त्रण गुमाएर केही सवारीलाई ठक्कर दिएको छ । २५ जना घाइते भएका छन् भने चार जनाको मृत्यु भएको छ । घाइतेको अस्पतालमा उपचार भइरहेको छ । बसका चालकलाई नियन्त्रणमा लिइएको छ । अनुसन्धान चलिरहेको छ ।”
घाइतेहरूलाई कुर्लाको बीएमसीद्वारा सञ्चालित भाभा अस्पताल र सायन अस्पताललगायत नजिकका अस्पतालहरूमा लगिएको थियो ।
करिब २५ जना घाइतेलाई उपचारका लागि लगिएको भाभा अस्पतालका डा पद्मश्री अहिरेले बताए । तीमध्ये दुई जनाको मृत्यु भएको थियो भने एकजना घाइतेको उपचारका क्रममा मृत्यु भएको थियो ।
यसैबीच शिवसेना विधायक दिलीप लाण्डेले ब्रेक फेल भएर दुर्घटना भएको हो । बस चालकले नियन्त्रण गुमाएर ३०–३५ जनालाई ठक्कर दिँदा आत्तिएर बस चालकले एक्लेरेटर थिचेको उनले बताए । ।
“कुर्ला स्टेसनबाट छुटेको बसको ब्रेक फेल भयो र चालकले बसको नियन्त्रण गुमाए । चालक डराए र ब्रेक थिच्नुको सट्टा एक्सेलेटर थिचे र बसको गति बढ्यो, चालकले बस नियन्त्रण गर्न सकेन ।”
घाइतेहरुको सायन अस्पताल, राजावाडी अस्पताल र अन्य निजी अस्पतालमा उपचार भइरहेको छ,” लाण्डेले जानकारी दिए ।