चितवन । आगामी जनवरीमा मलेसियामा हुने महिला यु–१९ विश्वकपको लागि नेपाली टिमको बन्द प्रशिक्षणका लागि खेलाडी सहितको टोली चितवन आएको छ ।
भरतपुर महानगरपालिका वडा नम्बर १५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमुना खेल मैदानमा हुने बन्द प्रशिक्षणमा सहभागी हुने १८ जना खेलाडी सहितको टोली चितवन आएको हो ।
चितवन क्रिकेट सङ्घका अध्यक्ष सुदीप पियाका अनुसार यही बुधबारदेखि सुरू हुने बन्द प्रशिक्षणका लागि खेलाडी सहितको टोली चितवन आउने क्रम जारी छ । उनले भने,’आजसम्म सबै खेलाडी चितवन आइ पुग्नेछन् ।’ कतिपय हवाई मार्ग हुँदै आएका छन् भने कतिपय सडकबाट आउँदै गरेको उनले जानकारी दिए ।
बन्द प्रशिक्षणमा खेलाडीसहित २३ जना सहभागी हुनेछन् । बन्द प्रशिक्षण पुस २२ गते सम्म चल्नेछ । बुधबार मध्यान्ह १२ः ३० बजेदेखि बन्द प्रशिक्षण सुरू हुने उनले जानकारी दिए । यहाँको बन्द प्रशिक्षण सकिए लगतै नेपाली टोली प्रतियोगिताका लागि मलेसिया प्रस्थान गर्ने उनले बताए ।