प्रकाश सपुत भन्छन्-चलचित्र ‘माइतीघर’ २०८२ सम्मका लागि मेरो अन्तिम चलचित्र हुनेछ



काठमाडौं । गायक तथा अभिनेता प्रकाश सपुत चलचित्र ‘माइतीघर’मा आबद्ध भएका छन् । बिहीबार सामाजिक संजालमार्फत सपुतले चलचित्र ‘माइतीघर’मा आबद्ध भएको र २०८२ सम्मका लागि यो नै उनकाे अन्तिम चलचित्र हुने जानकारी दिएका छन् ।

उनले भनेका छन्, ‘चलचित्र ‘सोल्टिनी’ र ‘हरिबहादुरको जुत्ता’पछि चलचित्र ‘माइतीघर’मा आबद्ध भएको छु । नेपाली चलचित्रको ईतिहास र गरिमा बोकेको एक एतिहासिक चलचित्र माइतीघर नामबाट बन्न लागेको नयाँ चलचित्र माइतीघरले नामको गरिमा धान्ने मा विश्वास छ । किनकी यसको कथा रोचक छ । म उत्साहित छु ! अनि २०८२ सम्मका लागि यो नै मेरो अन्तिम चलचित्र हुनेछ ।’


’परदेशी-२’ बाट अभिनेताका रूपमा डेब्यु गरेका सपुको दोस्रो चलचित्र ’पूर्णबहादुरको सारंगी’ प्रदर्शनमा आइसकेको छ।

यतिबेला उनले आफ्नै निर्देशनमा चलचित्र ‘वसन्त’ बनाइरहेका छन् । उनले भनेका छन्, ‘वसन्त,’ ‘सोल्टिनी’, ‘हरिबहादुरको जुत्ता’ र ‘माइतीघर’सम्म तपाई हाम्रो भेट सिनेमा घरमै हुने भयो । तपाईहरु आउनुपर्ने भयो । त्यसपछि तपाईंहरुलाई भेट्न तपाईंहरुकै ठाउमा आउनेछु । सांगीतिक यात्रा लिएर । ल है, आउने जाने गरौं ! माया बाँडौ ।’ वसन्त आगामी चैत २२ देखि प्रदर्शनमा आउँदैछ ।