ग्रामीण भेगका विकास निर्माणमा महिला सहभागिता बढ्दो



दैलेख । चुलोचौकामा मात्र सीमित यहाँका ग्रामीण भेगका महिला आजभोलि विकास निर्माण र सामाजिक काममा अग्रसर हुन थालेका छन् । 

गाउँमा महिलामात्र रहने हुँदा विकास निर्माणमा महिला सहभागिता बढी देखिएको स्थानीयवासीको भनाइ छ । “पराइघर जाने भनेर छोरीलाई पहिले पढाउने चलन थिएन । औँलामा गन्न सकिने छात्रा मात्र विद्यालयमा भेटिन्थे । अहिले छात्रभन्दा छात्राको सङ्ख्या बढी छ । गोष्ठी, सभा, सेमिनारमा महिला नै भेटिन्छन्न”, भैरवी गाउँपालिकाका उपाध्यक्ष देवी भण्डारीले भने ।


उनले गाउँपालिकाले छोरी बचत खाता सञ्चालन गरेको र २० वर्षसम्म रु एक हजार र प्रदेश सरकारले पाँच सय खातामा जम्मा गरिदिने गरेको जानकारी दिए । दैलेखमा विसं २०७८ को जनगणनाअनुसार महिला साक्षरता ६८ दशमलव ७ प्रतिशत छ । 

गाउँका पुरुष पनि विकास निर्माण र सामाजिक काममा त्यति अग्रसर नहुने भएकाले महिला नै अग्रसर हुनुपरेको ठाटीकाँध गाउँपालिका–२ की राजेश्वरी विकले बताइन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रम, कर्णाली मुख्यमन्त्री रोजगार कार्यक्रमबाट सञ्चालित विकास निर्माणलगायतमा महिला सहभागिता बढी भएको सोही गाउँपालिका–५ की छत्रकला शाहीले बताइन् । गाउँघरका धारा, पधेँरा, सडक, खानेपानी, विद्युत्, भवन निर्माणमा पनि महिलाको विशेष सहभागिता रहेको भगवतीमाई गाउँपालिका–१ की धनाकुमारी विकले जानकारी दिए । 

पछिल्लो समय खानेपानी दिगोपनाका लागिसमेत महिला सक्रियता बढेको छ । केही महिना अगाडि भगवतीमाई गाउँपालिकामा सम्पन्न नौदिने खानेपानी योजना दिगो सञ्चालन तथा मर्मतसम्भार तालिममा पुरुषभन्दा महिला सहभागिता बढी देखिएको भगवतीमाई गाउँपालिकाकी उपाध्याक्ष मिनाकुमारी खड्का बताउँछिन् ।

महिलालाई स्थानीय तहहरुले ‘प्लम्बर’ तालिम सञ्चालन गरेका छन् । खानेपानी योजनामा महिलाले प्लम्बरको काम गरिरहेका छन् । महिलाको सक्रियताले स्वरोजगार बन्नसमेत सहयोग पुगेको भगवतीमाई गाउँपालिकाका अध्यक्ष गणेशकुमार थापाले बताए ।