कीर्तिपुर नगरपालिकामा ६५ प्रतिशत मतदान



कीर्तिपुर। कीर्तिपुर नगरपालिकाको उपनिर्वाचनमा ६५.३९ प्रतिशत मतदान भएको छ। कीर्तिपुरको कुल मतदाता सङ्ख्या ३१ हजार एक सय २२ रहेकामा २० हजार तीन सय ४६ मत खसेको थियो।

मतदान अधिकृत इन्दिरा कार्कीका अनुसार कीर्तिपुरका सबै २० मतदानस्थलमा बिहान ७ बजेदेखि सुरु भएको मतदान दिनभर शान्तिपूर्ण रुपमा रही साँझ ५ बजे सम्पन्न भएको हो।


नगरपालिका प्रमुख र वडा नं १ र ४ का वडाध्यक्षका लागि भएको उपनिर्वाचनमा प्रमुख पदमा दलीय र स्वतन्त्र गरी २० उम्मेदवार रहेका छन् भने वडा नं १ मा नौ तथा वडा नं ४ मा १२  उम्मेदवार चुनावी मैदानमा छन्।

कीर्तिपुरका तत्कालीन नगरप्रमुख राजकुमार नकर्मी, वडा नं १ का वडाध्यक्ष हिरालाल महर्जन र वडा नं ४ का वडाध्यक्ष श्यामराज अधिकारीको निधन भएपछि उपचुनाव भएको हो।