कांग्रेसले सुनिता थापालाई गण्डकी प्रदेशसभा सदस्य बनाउने



काठमाडौं। सत्ता साझेदार नेपाली कांग्रेसले समानुपातिकतर्फको रिक्त गण्डकी प्रदेशसभा सदस्य पदमा स्याङ्जाकी सुनिता थापालाई सिफारिस गर्ने निर्णय गरेको छ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बसेको कार्यसम्पादन समितिको बैठकले थापालाई समानुपातिकतर्फ प्रदेशसभा सदस्य पदमा सिफारिस गर्ने निर्णय गरेको कांग्रेस प्रवक्ता डा. प्रकाशशरणम महतले जानकारी दिए ।


उनले रिक्त पदपूर्तिका लागि निर्वाचन आयोगमा भएको बन्दसूचीको क्रम संख्याअनुसार थापाको नाम सिफारिस गर्ने निर्णय भएको जानकारी दिए ।

गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको निधन भएपछि समानुपातिकतर्फको प्रदेशसभा सदस्य पद रिक्त थियो ।

बैठकले केन्द्रीय सदस्य उमेश श्रेष्ठलाई कोषाध्यक्षमा मनोनीत गर्ने सभापति देउवाको प्रस्तावलाई अनुमोदन गरेको पनि प्रवक्ता महतले जानकारी दिए ।

‘कोषाध्यक्षमा उमेश श्रेष्ठजीलाई हाम्रो पार्टी सभापतिले विधानबमोजिम प्रस्तावित गर्नुभएको थियो,’ बैठकपछि महतले भने, ‘त्यो प्रस्तावलाई बैठकले अनुमोदन गर्‍याे ।’