असदको पतनपछि ५ दिनमा करिव आठ हजार सिरियाली टर्की सीमा हुँदै स्वदेश फिर्ता



इस्तानबुल । सिरियाका शक्तिशाली राष्ट्रपति बशर अल–असदको पतन भएको पाँच दिनमा सात हजार ६ सयभन्दा बढी सिरियाली आप्रवासीले टर्कीको सीमा पार गरेर घर फर्किएका टर्कीका गृहमन्त्रीले बताएका छन् ।

गृहमन्त्री अली येरलिकायाले पाँच दिनमा सात हजार छ सय २१ आप्रवासी फर्किएका जानकारी दिएका हुन् ।
टर्की सन् २०११ मा गृहयुद्ध सुरु भएपछि सिरियाबाट भागेका करिब ३० लाख शरणार्थीहरूको घर हो र असदको पतनले धेरैजना घर फर्कने आशा जगाएको छ ।


सोमबार बिहान एएफपीका संवाददाताहरूले सिरियाको दोस्रो सहर अलेप्पोबाट करिब ५० किलोमिटर पश्चिममा रहेको सिलभेगोजु सीमामा सयौँ शरणार्थी भेला भएको देखे र गृह मन्त्रालयको तथ्याङ्कले त्यस दिन एक हजार दुई सय ५९ जनाले पार गरेको देखाएको छ ।

येरलिकायाका अनुसार अर्को दिन एक हजार छ सय ६९, बुधबार एक हजार दुई सय ९३, बिहीबार एक हजार पाँच सय ५३ र शुक्रबार एक हजार आठ सय ४७ जनाले सीमा पार गरेका थिए ।

असदको पतन भएको ४८ घन्टाभित्रै टर्कीले आफ्नो दैनिक सीमा पार गर्ने क्षमतालाई तीन हजारबाट १५ हजारदेखि २० हजारसम्म बढाएको थियो ।

टर्कीले सिरियासँग नौ सय किलोमिटर लामो सीमा साझा गरेको छ र यसले ‘यातायात सहज बनाउन’ सुदूर पश्चिममा छैटौँ नाका खोल्ने बताएको छ ।

टर्की समाजभित्र सिरियाली विरोधी भावना बढ्दै जाँदा अङ्कारा सकेसम्म धेरै शरणार्थी आफ्नो मातृभूमिमा फर्कन हेर्न उत्सुक छ । गृह मन्त्रालयका अनुसार तिनीहरूमध्ये करिब १२ लाख ४० हजार (करिब ४२ प्रतिशत)  अलेप्पो क्षेत्रका हुन् ।

नयाँ सरकारलाई सैन्य सहयोग गर्न टर्की तयारः रक्षामन्त्री

यसैबीच टर्कीले असदलाई सत्ताच्यूत गर्ने विद्रोहीहरूले अनुरोध गरेमा उनीहरूले स्थापना गरेको सिरियाको नयाँ इस्लामवादी नेतृत्वको सरकारलाई सैन्य सहयोग गर्न तयार रहेको बताएको छ ।

रक्षामन्त्री यासर गुलरले आइतबार पत्रकारहरूसँग राज्य समाचार संस्था अनाडोलु र अन्य टर्की मीडिया माध्यमहरूमा रिपोर्ट गरिएका कुरामा नयाँ नेतृत्वलाई ‘अवसर’ दिइनुपर्ने र टर्की ‘नयाँ प्रशासनले अनुरोध गरेमा आवश्यक सहयोग गर्न तयार’ रहेको बताए ।

“नयाँ प्रशासनले के गर्छ भनेर हेर्न आवश्यक छ । हामीलाई लाग्छ उनीहरूलाई मौका दिनु आवश्यक छ”, गुलरले हयात ताहरिर अल–शाम (एचटिएस) विद्रोही गठबन्धनको बारेमा भने । उक्त गठबन्धन अल–कायदाको सिरिया शाखामा निहित छ र धेरै पश्चिमी सरकारहरूद्वारा ‘आतङ्कवादी’ सङ्गठनका रूपमा घोषित गरिएको छ ।

तर एचटिएसले आफ्नो बयानबाजीलाई मध्यम बनाउन खोजेको छ र यसको सङ्क्रमणकालीन सरकारले कानूनको शासनसँगै सबै सिरियालीहरूको अधिकारको रक्षा गरिने कुरामा जोड दिएको छ ।

नयाँ प्रशासनले ‘सबै सरकारी संस्था, संयुक्त राष्ट्रसङ्घ र अन्य अन्तर्राष्ट्रिय संस्थाहरूलाई सम्मान गर्ने’ वाचा गरेको र रासायनिक हतियारको कुनै पनि प्रमाण ओपिसिडब्लु निगरानी संस्थालाई रिपोर्ट गर्ने वाचा गरेको गुलरले बताए ।