सालझण्डी ढोरपाटन सडक : १६ वर्षमा ३० प्रतिशत मात्रै काम, ढोरपाटन जाने पर्यटकलाई सास्ती



बलेवा । निर्माण थालेको १६ वर्ष पुग्दा पनि राष्ट्रिय गौरवको आयोजना सालझण्डी ढोरपाटन सडकको बागलुङ खण्डमा ३० प्रतिशत मात्रै प्रगति भएको छ । निर्माण कम्पनीको सुस्त कामका कारण गतिलिन नसकेको आयोजनाले आरोप लगाउने गरेको छ । आयोजनाले पनि एक दुई स्थानमा मात्र ठेक्का लगाएर अन्य स्थान अलपत्रै छाडेको छ । सडक अलपत्र पर्दा याममा ढोरपाटन हिँडेका पर्यटकले सास्ती खेप्दै आएका छन् ।

अझैपनि बागलुङभित्रको ६१ किमीमध्ये अधिकांश ट्र्याक मात्रै खुलेको छ । त्यो पनि यसअघि नै ग्रामीण सडकको रुपमा खुलेको खण्डमा त परिवर्तन नै भएको छैन । जिल्लाभित्रको ६१ किमी सडकमध्ये बुर्तिबाङदेखि ढोरपाटन पुग्ने सडकभित्रको पनि २२ किमी खण्डको ठेक्का अलपत्र छ । बुर्तिबाङ फल्लेघर ग्राभेल गर्न ठेक्का लिएको स्वच्छन्द, ओमबुद्ध संयुक्त निर्माण कम्पनीले तोकिएको समयमा ३० प्रतिशत मात्रै काम गरेर अलपत्र पारेको हो । तोकिएको समय सकेर थपिएको समयमा पनि कुनै प्रगति नभएको सालभण्डडी ढोरपाटन सडक आयोजनाका प्रमुख गागलबहादुर भण्डारीले बताए ।


त्यस बाहेकको खण्डमा त झनै काम भएको छैन । खुलेको ट्र्याकसमेत समयमा मर्मत नहुँदा वर्षातमा खसेका पहिरो त्यतिकै छ । निसीखोला तर्फको खण्डमा सडकको कामै नहुँदा गाउँपालिकाका जनप्रतिनिधिसमेत आक्रोसित छन् । ‘न आयोजनाले काम गर्छ, न हामीले लगानी गर्न पाउँछौँ, जनताले हामीलाई सोधेको प्रश्नको उत्तर पनि दिन सकेका छैनौँ ‘ गाउँपालिकाका उपाध्यक्ष प्रेमबहादुर घर्तीले भने, ‘सोह्रवर्षदेखि काम नभएपछि जनताले पनि आयोजनाको काम छैन भन्न थालेका छन् ।’ दोहोरो पर्ने डरले पालिकाले लगानी नगरेको उनले बताए ।

विसं २०६५ मा ट्र्याक खुलाउने काम भए पनि त्यस यता अधिकांश खण्ड अलपत्र छ । फलेघर तर्फको भने २०७८ को कात्तिकमा ठेक्का लागेको थियो । २०८१ को वैशाख ४ गते पूरा गर्ने लक्ष्यमा पटक–पटक म्याद थपेर पनि ३० प्रतिशत मात्रै काम भएको हो । त्यो पनि संरक्षण नभएर सबै भत्केको छ । चिप्लो र खाल्डैखाल्डा भएकाले यात्रीले जोखिम मोलेर यात्रा गरिरहेका छन् ।

२५ करोड ६१ लाख रुपैयाँमा ठेक्का लिएकोमा अहिलेसम्म वित्तीय प्रगति पनि ३० प्रतिशतमाथि जान नसकेको हो । ठेकेदारले आगामी पुस मसान्तका लागि थप गरेको समयमा पनि प्रगति शून्य भएपछि उक्त ठेक्का तोड्नुपर्ने अवस्था आएको भण्डारीले बताए । आगामी असार मसान्तभित्र सक्ने भरपर्दो आधार नपाएमा ठेक्का रद्ध गरेर नयाँ प्रक्रियामा जानैपर्ने अवस्था रहेको उनले बताए । जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले सडक अलपत्र पर्दा पर्यटक फर्केको र जिल्लाको राजस्व संकलनमासमेत असर परेको बताए ।

सडक अप्ठ्यारो भएकै कारण ढोरपाटनका गर्भवती, सुत्केरीहरुले समयमा उपचार पाउन नसकेको, नेपाली सेना र आरक्ष कार्यालयको रासन ढुवानीमासमेत असर परेको छ । यो सडक अलपत्र परेपछि आयोजनाले समयमा काम गर्न ताकेता गर्दै अहिलेसम्म ठेकेदार कम्पनीलाई १० पटक पत्राचार गरेको छ । दुई पटक बैठक बसेर बोलाइएको थियो ।

आयोजनाको पत्राचारको समेत बेवास्ता गरेपछि ठेकेदार कम्पनीको तीन करोड ५६ लाख रुपैयाँ बैंक जमानत पनि रोक्का गरिएको छ । लुम्बिनीमा आएका पर्यटकलाई ढोरपापटनसम्म लैजान सहज हुने उद्देश्यले यो सडक निर्माण थालिएको थियो । कूल एक सय ९७ किमी लामो सडकको अहिलेसम्म अर्घाखाँचीको १८ किमी मात्रै कालोपत्र भएको छ । सडक मर्मत नभएकै कारण ढुवानी समस्याले ढोरपाटनका किसानले फलाएको आलुसमेत समयमा बजार पठाउन सकेका छैनन् ।