फेवाफाँटको जेठोबुढोमा गभारोः भित्राउने बेला धान न पराल



गण्डकी । जेठोबुढो धानको ‘पकेट’ क्षेत्रका रुपमा परिचित पोखराको फेवाफाँटका किसान बालीमा गभारो लागेकाले चिन्तित छन् । बालमा अन्न लागेको छैन । पराल पनि पशुले नखानेगरी बिग्रिएको छ ।

गभारोका कारण यहाँको एक हजार रोपनी क्षेत्रफलमा लगाएको जेठोबुढो खेर गएको तथा अरोगका कारण पराल पनि उपयोग नहुने स्थानीय किसान देविललाल लामिछानेले दुखेसो गरे । गभारोले यस अघि बाली सखाप नपारेको अनुभव उनले सुनाए । रोगबारे आफूहरू अनभिज्ञ रहेको पीडत किसानले बताएका छन् ।


यसैबीच, पोखरा महानगरपालिका कृषि महाशाखाको एक टोलीले फेवाफाँट पुगेर बाली निरीक्षण गरेको छ । “ फेवाफाँटमा गभारोको प्रकोप रहेछ ।समयमा नै जानकारी पाएको भए क्षति घटाउन सकिन्थ्यो अब ढिलो भइसकेछ,”महाशाखा प्रमुख मनोहर कडरियाले रासससँग भने । साथै उनले पीडित किसानलाई कृषि सम्बद्ध संस्थाहरूबाट सहयोग हुनुपर्नेमा जोड दिए।