बरहथवा (सर्लाही) । सर्लाहीको ईश्वरपुर नगरपालिका–२ मियाँखोरमा पोखरीमा डुबेको कारबाट दुई जनाको शव निकालिएको छ ।
गौशाला नगरपालिका–१० का अन्दाजी ३७–३८ वर्षीय कार चालक सुरेश महतो र सोनवा गाउँपालिका–८ का ३७ वर्षीय रामाकान्त ठाकुर मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
बयलबासबाट महोत्तरीको गौशालातर्फ जाँदै गरेको लु २ च ६७५८ नम्बरको कार मंगलबार बिहान पोखरीमा डुबेको थियो । त्यसमा सवार तीन जनामध्ये महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर २ बस्ने अन्दाजी ३१ वर्षीय जनक यादव सकुशल निस्किएका थिए । पोखरीमा डुबेको कार भने निकाल्ने प्रयास भइरहेको छ।