काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङसँग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले कागजी बयान लिएको छ। सिआइबीले बुधबार गुरूङसँग पाँच घन्टा लगाएर बयान लिएको हो।
गुरूङ ललितपुरको मितेरी सहकारीकी व्यवस्थापक ज्योति गुरूङका श्रीमान् हुन्। धनराजले आफूहरूबीच सम्बन्धविच्छेद भइसकेको दाबी गरेका छन्। गुरूङले सिआइबीसँग आफ्नो संलग्नता नभएको बताएका छन्।
सहकारी व्यवस्थापक रहेकी ज्योतिविरूद्ध रेड कर्नर नोटिस जारी भइसकेको छ। ज्योतिले सहकारीको १४ करोड ८१ लाख रुपैयाँ बचत अपचलन गरेको आरोप छ।
गुरूङमाथि अनुसन्धान गर्न कांग्रेसकै केही नेताहरू, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले सरकारलाई आग्रह गर्दै आएका थिए। गुरूङले पनि प्रतिनिधि सभामा बोल्दै मितेरी सहकारीबारे आफूमाथि अनुसन्धान गर्न माग गरेका थिए।