तिहार सक्किएसँगै किसानलाई धान भित्र्याउने चटारो



हेटौँडा । तिहार सकिएसँगै मकवानपुरका किसानहरू नियमित कामकाजमा फर्कन थालेका छन् ।

भाइटिकाको भोलिपल्टदेखि नै हेटौँडा उपमहानगरपालिका, मकवानपुरगढी गाउँपालिका, मनहरी गाउँपालिका, भिमफेदी गाउँपालिका लगायत क्षेत्रका किसानहरू धान भित्र्याउन खेतमा व्यस्त हुन थालेका हुन् ।


केही किसानले तिहारअघि नै धान भित्र्याइसकेका छन् भने केही धान भित्र्याउने चटारोमा छन् । दिनहुँजसो पानी पर्ने सम्भावनाका कारण पनि किसान चिन्तित बन्नुपरेको मकवानपुरगढीका किसान उत्तम सापकोटा बताउँछन् । खेतको धान भित्रयाएपछि तोरी, आलु, तरकारीहरू, मकै समेत किसानले लगाउने गरेका छन् ।

पानी परे भित्र्याउने अवस्थाको धानमा क्षति पुग्छ भनेर उनीहरू तिहारको टीका लगाएर धान भित्र्याउन खेतमा खटिएका हुन् । बिहानै खेतमा पस्ने किसान अहिले धान काट्न, झाँट्न र भित्र्याउन व्यस्त छन् । वर्षभरको खर्च जुटाउने मुख्य बाली भएकाले घरै सुनसान हुने गरी खेतमा व्यस्त हुनुपरेको किसान बताउँछन् । पाकेको बाली त्यत्तिकै राख्दा झरेर जाने हुन्छ ।