वीरगञ्ज (पर्सा) । छठ पर्वसँग सम्बन्धित गीत गाएर प्रसिद्धि कमाएकी भारतीय लोकगायिका शारदा सिन्हाको निधन भएको छ ।
भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचार गराइरहेकी ७२ वर्षीया गायिका सिन्हाको मङ्गलबार साँझ निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भोजपुरी तथा मैथली भाषाकी लोकगायिका सिन्हाले गाएका लोकगीत भारतीयसहित नेपाली गीत, सङ्गीतका पारखीले मन पराउँदै आएका छन् । उनले गाएको छठसँग सम्बन्धित ‘डोमिनी बेटी सुप लेले ठार छे’, ‘अँगना में पोखरी खनाइब, छठी मैया आइथिन आज’, ‘मोरा,भैया गैल मुंगेर’ लगायत गीत चर्चित छन् ।
वीरगञ्जका कलासाहित्य क्षेत्रमा अनुरागीहरुले पनि लोकगायिका सिन्हाको निधनले स्तब्ध बनाएको प्रतिक्रिया दिएका छन् । नारायणी वाङ्मय प्रतिष्ठानका पूर्वसचिव मनोज उपाध्यायले लोकगायिका सिन्हालाई भोजपुरी गीतका उज्जवल नक्षेत्रको रुपमा स्मरण गरे ।
“सिन्हाले लोकआस्थाका रुपमा मनाइने पर्व छठको गीतलाई आफ्नो सुुमुधुर आवाजमार्फत जनस्तरमा पुर्याउनुभएको छ । उहाँले गाउनुभएका छठका गीत अहिले पनि वीरगञ्जका विभिन्न छठ घाटहरुमा गुञ्जिरहेका छन्”, उनले भने, “लोकगायिका सिन्हाले भोजपुरीसँगै चर्चित हिन्दी गीतहरु पनि गाउनुभएको छ ।”