काठमाडौँ । सर्वोच्च अदालतले कर फर्स्योट मुद्दामा भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतबाट दोषी ठहर भएका चुडामणी शर्मासहितको मुद्दामा विपक्षी झिकाउने आदेश गरेको छ । न्यायाधीशद्धय मनोजकुमार शर्मा र नृपध्वज निरौलाको इजलासले यस्तो आदेश गरेको हो ।
२०८१ कात्तिक २० गतेदेखि निरन्तर पेसी तोकिने तर हेर्न नमिल्ने हुँदै आएको उक्त मुद्दा मंगलबार हेर्न मिल्ने इजलासमा पेसी परेको थियो । उक्त इजलासले अन्तिम सुनुवाइका लागि विपक्षीलाई जानकारी दिनुपर्ने देखिएको भन्दै विपक्षीलाई झिकाउने आदेश गरेको हो । यो विवादमा ६ थान मुद्दा दर्ता भएका छन् ।
शर्मासहितका प्रतिवादीहरूले बन्दी र पुनरावलोकन दर्ता गराएका छन् भने नेपाल सरकारका तर्फबाट पनि पुनरावलोकन निवेदन दर्ता भएको छ । यी सबै मुद्दालाई एकै ठाउँमा राखेर २०८१ साउन २२ गतेदेखि सुनुवाइ सुरु भएको थियो ।
यो विवादमा यसअघि चार पटक फाइल मगाउने र विपक्षीलाई झिकाउने आदेश भएको छ ।