गाउँ आएर देउसीभैलोमा रमाए विदेशी



म्याग्दी । जिल्लाका पर्यटकीय स्थलमा भ्रमणका लागि आएका विदेशी पर्यटक देउसीभैलोमा रमाएका छन्। अन्नपूर्ण चक्रीय पदमार्गको भ्रमणमा आएका पर्यटक स्थानीय आमा समूह, विद्यालय, युवा क्लबले तिहारका अवसरमा आयोजना गरेको देउसीभैलोमा नाँचगान गरेर रमाइलो गरेका हुन्। इच्छुक पर्यटकले भाइटिका पनि लगाएका छन्।

अन्नपूर्ण गाउँपालिका-६ घोडेपानीको होटल व्यवस्थापन उपसमितिका अध्यक्ष मीना पुनले तिहारमा पुनहिल आमा समूहले आयोजना गरेको देउसीभैलोमा पर्यटक पनि नाचगान गरेर रमाइलो गरेका बताए।


‘प्रकृतिसँग रमाउन आएका पर्यटकले तिहारको सांस्कृतिक कार्यक्रम पनि अवलोकन गर्ने अवसर पाएका छन्’, उनले भने, ‘पर्यटकले मादल बजाउँदै देउसीभैलो गाउनुका साथै नाचेका पनि छन्।’ घोडेपानीका साथै शिख, घार, भुरुङ्ग-तातोपानी, दाना, नारच्याङको देउसीभैलोमा पनि पदयात्रामा आएका पर्यटकहरु रमाएका थिए ।

अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने म्याग्दीको दाना-नारच्याङ, भुरुङ्ग-तातोपानी, घार, शिख, घोडेपानी, उल्लेरी, घान्द्रुक, नयाँपुल भ्रमण गर्न आउने पर्यटकका लागि घोडेपानी केन्द्रमा पर्दछ।

पर्यटकलाई संस्कृतिको बारेमा जानकारी गराउने, संस्कृति संरक्षण, नयाँ पुस्तामा हस्तान्तरण र आयस्रोत जुटाउने उद्देश्यले देउसीभैलो आयोजना गरिएको पुनहिल आमा समूहका अध्यक्ष तारा पुनले बताए।

पुनहिल आमा समूहले घोडेपानीमा मगर सङग्रहालय सञ्चालन गरेको छ। मगर समुदायको पोशाकमा सजिएर स्थानीय कलाकारले आफैँ गीत गाउने, भैलो भट्याउने, बाजा बजाउने र नाच्ने गरेका थिए।

तिहारमा खेलिने देउसीभैलोमा पौराणिक कथाहरू प्रस्तुत गरेर रमाइलो पाराले भट्याउँदा सुन्नेले पनि रमाइलो मानेका अध्यक्ष ताराले उल्लेख गरे।

देउसीभैलो खेल्न पुगेकाहरुले सम्बन्धित घरको वर्णन गर्दै नाच्ने, गाउने र आशिष दिने गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here