कोरला नाकामा अध्यागमन कार्यालय स्थापना हुँदा स्थानीयमा उत्साह



गण्डकी । लामो समयको प्रतिक्षापछि अन्ततः हिमाल पारीको जिल्ला मुस्ताङको उपल्लो भेगस्थित नेपाल र चीनबीचको २४ नं सीमा स्तम्भ क्षेत्रमा कोरला नाकामा नेपालले अध्यागमन कार्यालय सञ्चालनमा ल्याइएको छ ।

लामो समयदेखि चासो र चर्चामा उक्त नाका गत बुधबारदेखि सञ्चालनमा ल्याइएको हो । कार्यालय उद्घाटनका लागि गृहमन्त्री रमेश लेखक, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सुरक्षा निकायका नेतृत्वसहित कोरला पुगेका थिए । सोही दिन मुस्ताङको लोमान्थाङ गाउँपालिका वडा नं १ छोसेरस्थित नेचुङमा नवनिर्मित सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बीओपी) भवन पनि उद्घाटन गरे ।


सो अवसरमा मन्त्री लेखकले वर्तमान सरकार गठन भएको १०८ दिनमा कोरला नाकामा अध्यागमन कार्यालय स्थापना गर्न सकिएको बताए । सरकारले सय दिन समय अवधिमा नै कार्यालयको उद्घाटन गर्ने तयारी गरेको थियो ।

मन्त्री लेखकले यस नाकाबाट यस अघि दुई देशका नागरिक मात्र प्रवेश पत्रका आधारमा आवतजावत गर्नुपर्ने बाध्यता अन्त्य हुँदै यस नाकाबाट चीन र चीनबाट नेपाल आवतजावत गर्नका लागि भिसा सेवा प्रारम्भ भएको बताए । अध्यागमन कार्यालय सञ्चालन सरकारको ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै उनले आगामी दिनमा यसको सहज सञ्चालनका लागि पूर्वाधार विकासका साथै सेवा विस्तारमा जोड दिइने विश्वास दिलाए ।

कोरला नाका मुस्ताङका लागि मात्रै नभई गण्डकी प्रदेशकै ‘लाइफ लाइन’ भएको उल्लेख गर्दै मन्त्री लेखकले यस नाकालाई नेपालकै महत्त्वपूर्ण नाकाका रूपमा विकास गरिने बताए । नेपाल र चीनबीच व्यापार, पर्यटन, धार्मिक पर्यटन लगायतको गन्तव्यका रूपमा यसको विकास हुने उनले विश्वास व्यक्त गरे ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नाकाको सुव्यवस्थित सञ्चालनलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताए । नाकालाई नै लक्षित गरी पोखरा हुँदै म्याग्दी भएर आउने सडक खण्डको स्तरोन्नति तथा विकासका कुरालाई उच्च प्राथमिकतामा राखिएको उनको भनाइ छ । नाका गण्डकी प्रदेशको आर्थिक समृद्धिका लागि महत्त्वपूर्ण बन्ने उनले विश्वास व्यक्त गरे ।

कोरला नाका सञ्चालनमा ल्याउनुपर्ने विषय उठी रहेका अवस्थामा गण्डकी प्रदेश सरकारले  अघिल्लो आर्थिक वर्षमा अध्यागमन कार्यालय सञ्चालनका लागि ५० लाख रुपैयाँ बजेट बजेट विनियोजन गरेको थियो । उक्त बजेटबाट कोरलामा छ कोठे ‘एसवाई प्यानल’ को भवन निर्माण गरिएको हो ।

नेपालतर्फ पूर्वाधार निर्माण कार्य अघि नबढे पनि चीनले भने आफ्नोतर्फ पूर्वाधार निर्माणका धेरै काम सम्पन्न गरिसकेको छ । चीनले कोरला नाकामा आफ्नोतर्फबाट धेरै अत्याधुनिक किसिमका संरचना निर्माण गरिसकेका अवस्थामा नेपालले गरेको अध्यागमन कार्यालयको उद्घाटन लगायतका कामलाई भने अर्थपूर्ण रूपमा हेरिएको छ ।

कोरला नाकामा अध्यागमन कार्यालय देख्दा सामान्य भए पनि यहाँबाट सबै किसिमका सुविधा प्राप्त हुने जनाइएको छ । मन्त्री लेखकले सामान्य भवन सहितको संरचना निर्माण भए पनि यहाँबाट अध्यागमन कार्यालयबाट पाउने सबै किसिमका सुविधा उपलब्ध हुने बताउँदै अनलाइन प्रणालीबाट सेवा प्रवाह हुने जानकारी गराए ।

गृहमन्त्री लेखकले लोमान्थाङ गाउँपालिका वडा नं १ छोसेर स्थित नेचुङमा नवनिर्मित २ तलाको ५५ कोठे वातावरणमैत्री प्रहरी बोर्डर आउट पोष्ट(बीओपी) भवन पनि उद्घाटन गरेका थिए । सीमा सुरक्षाका साथै सीमा क्षेत्रमा हुने अवाञ्छित गतिविधि, सम्भावित अपराध तथा चोरी सिकारी र स्थानीय नागरिकको सुरक्षार्थ खट्नका लागि सहयोग पुगोस् भन्ने उद्देश्यका साथ उक्त भवन निर्माण गरिएको हो ।

अध्यागमन कार्यालय सञ्चालनसँगै यहाँका स्थानीयवासी भने उत्साहित भएका छन् । अध्यागमन कार्यालय शुभारम्भले जिल्लावासीमा उत्साह थपेको नेपाल पत्रकार महासंघ मुस्ताङका अध्यक्ष सुन्दरकुमार थकाली बताए । कार्यालय सञ्चालनसँगै यसको प्रभावकारी व्यवस्थापन हुने मुस्ताङवासीको विश्वास रहेको उनको भनाइ छ ।

मुस्ताङको लोमान्थाङ, वारागुङ मुक्ति क्षेत्र, घरपझोङ, थासाङ, लोघेकर र दामोदरकुण्ड गाउँपालिकाका बासिन्दा तिब्बतको नेचुङ-लिचीसम्म पास लिएर व्यापार गर्नका लागि  नियमित रूपमा आवतजावत गर्दै आएका छन् । हाल पास लिएका व्यक्ति बिहान ९.०० बजे चीनतर्फ छिरेपछि दिउँसो ३.०० बजे मात्र फर्कनुपर्छ ।

नाका क्षेत्रको समग्र भौतिक पूर्वाधार विकासका लागि भन्सार, अध्यागमनलगायत सुख्खा बन्दरगाह र एकीकृत सुरक्षा पोस्टको भौतिक पूर्वाधार निर्माण गर्न  एक हजार रोपनी जग्गा सरकारका नाममा लालपुर्जा बनिसकेको छ । नाकामा पूर्वाधार निर्माणको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) का लागि एक करोड रुपैयाँ विनियोजन भई दुई वर्ष अघिनै काम अघि बढाइएको थियो । उक्त स्थानमा भौगर्भिक परीक्षण तथा माटो परीक्षणलगायत कार्य भैसकेको लोमन्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरुङले बताए ।

बी ओपी र अध्यागमन कार्यालय उद्घाटनका अवसरमा गृहमन्त्री लेखक, गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले दामोहरकुण्ड पुगी त्यहाँको स्थलगत अवलोकन गरे । हिन्दुहरूको महत्त्वपूर्ण तीर्थस्थलका रूपमा रहेको दामोदर कुण्ड क्षेत्रको प्रवर्द्धन र विकासलाई लो-घेकर दामोदरकुण्ड गाउँपालिकाले प्राथमिकतामा राखेको छ ।

गाउँपालिकाले दामेदर कुण्ड क्षेत्रमा धर्मशाला निर्माण गरिसकेको गाउँपालिकाका अध्यक्ष राजु विष्टले जानकारी दिए । उक्त क्षेत्रमा टेलिफोन सुविधा गम्भीर समस्या रहेको बताउँदै उनले विद्युत् सेवा पनि नपुगेको बताए । मुस्ताङको याराघारा भन्ने स्थानबाट पदयात्रीहरू तीन दिनको पदयात्रामार्फत दामोदरकुण्ड पुग्न सक्ने बताउँदै उनले उक्त मार्गस्थित प्राच्य खोलामा पुल राख्नु आवश्यक रहेको बताए ।