कोप–२९ मा उठाउनुपर्ने विषयबारे राष्ट्रपति पौडेललाई समितिको सुझाव



काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई प्रतिनिधिसभाका कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र पूर्वाधार विकास समितिका सभापति एवं सांसदहरूले जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२९) मा नेपालका तर्फबाट उठाउनुपर्ने विषयबारे सुझाव दिएका छन् । 

उक्त सम्मेलन यही कात्तिक २६ गतेदेखि मङ्सिर ७ गतेसम्म  अजरबैजानको बाकुमा हुँदैछ । समितिका सभापति एवं सदस्यहरूले राष्ट्रपति भवन शीतल निवासमा आज राष्ट्रपति पौडेललाई भेटी जलवायु परिवर्तनको असरका कारण नेपालले भोग्नुपरेको जोखिमका सम्बन्धमा अन्तर्राष्ट्रियस्तरमा उठाउनुपर्ने विषयहरू प्रस्तुत गरेका थिए । 


सो अवसरमा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी, वन राज्यमन्त्री रुपा विक, प्रतिनिधिसभाका कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुम थापामगर, पूर्वाधार विकास समितिका सभापति दिपक सिंह र दुवै समितिका सदस्यहरुको सहभागिता रहेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।