उपनिर्वाचनमा माओवादीसँग गठबन्धन गर्ने एकीकृत समाजवादीको तयारी



काठमाडौं । प्रतिपक्षी दल नेकपा एकीकृत समाजवादीले आसन्न स्थानीय तह उपनिर्वाचनमा गठबन्धन गरेर लड्ने तयारी गरेको छ । समाजवादीले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसँग मिलेर चुनाव लड्ने तयारी गरेको हो ।

स्थानीय तहका अध्यक्ष,उपाध्यक्ष, मेयर उपमेयर, जिल्ला समन्वय समिति प्रमुख र वडाध्यक्ष गरी ४४ वटा पदमा हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ताको समय मंसिर २ गतेलाई तोकिएको छ ।


उपनिर्वाचनको मिति घोषणा नहुँदै महासचिव घनश्याम भुसालले सर्कुलर जारी गर्दै नेता तथा कार्यकर्तालाई उपनिर्वाचनको तयारीमा लाग्न निर्देशन दिएका थिए ।

‘निर्वाचन हुने स्थानीय तहमा हाम्रो पार्टीको अवस्था र वस्तुस्थितिको कस्तो छ ? निर्वाचनमा खडा गरिने उम्मेदवारको खोजी र घोषणा साथै निर्वाचनमा अन्य पार्टीसँग तालमेल हुन सक्ने अवस्था छ छैन रु त्यसको तथ्यपरक विश्लेषण गरी पठाउने,’ भुसालले जारी गरेको सर्कुलरमा भनिएको थियो ।

एकीकृत समाजवादीले उपनिर्वाचनका लागि वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेको नेतृत्वमा उपनिर्वाचन परीचालन कमिटी गठन गरेको छ । जसमा उपमहासचिव रामकुमार भट्टराई सदस्य छन् । ४४ स्थानमा उपनिर्वाचन भएपनि एकीकृत समाजवादीले जित्नसक्ने १० स्थानमा उम्मेदवार दिने र उम्मेदवारी दिएको सबैस्थानमा जित हात पर्ने रणनीति बनाएको छ ।

अहिले स्थानीय तहका ४४ पद रिक्त छन् । जिल्ला समन्वय समितिका प्रमुख दुई, नगरपालिका प्रमुख एक, उपमेयर एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष तीन,र ३५ वटा वडामा वडाध्यक्ष पद रिक्त रहेको छ ।

उपनिर्वाचन हुने स्थनीय तहमध्ये सबै भन्दा धेरै नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि छन् । कांग्रेसबाट निर्वाचित पालिका प्रमुख तीन जना, जिल्ला समन्वय समिति प्रमुख २ जना उपप्रमुख,उपाध्यक्ष तीन जना र वडाअध्यक्ष १६ जना छन् भने नेकपा एमालेबाट निर्वाचित ७ जना वडाअध्यक्ष छन् । माओवादीबाट निर्वाचित २ जना उपाध्यक्ष र ६ जना वडा अध्यक्षको निधन भएको छ भने जसपाबाट निर्वाचित एक जना र स्वतन्त्रबाट निर्वाचित एक जना वडा अध्यक्षको निधन भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here