काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनले आगामी आमनिर्वाचनको सन्देश दिने बताएका छन् ।
बुधबार सामाजिक संजालमार्फत भिडियो सन्देश जारी गरी अध्यक्ष प्रचण्डले उपनिर्वाचनलाई अवसरको रुपमा लिन मतदातालाई आह्वान गरेका हुन् ।
उनले उपनिर्वाचन आफूहरुले भ्रष्टाचारविरोधी महाअभियानलाई अगाडि बढाउने नयाँ संकल्पको रुपमा लिएको बताए ।
उनले भनेका छन्, ‘मेरो नेतृत्वको सरकारको तर्फबाट सुशासनको पक्षमा भ्रष्टाचारको विरुद्ध, सामाजिक न्यायको पक्षमा, आर्थिक संकटबाट देशलाई मुक्त गर्न निकै प्रयास गरेको थिएँ। त्यसको परिणाम देशमा एउटा सकारात्मक भाव पैदा भइराखेको छ। यो उपनिर्वाचन पनि हाम्रा लागि भ्रष्टाचारविरोध महाअभियानलाई अगाडि बढाउने नयाँ संकल्पको रुपमा लिएका छौं।’
उनले उपनिर्वाचन जनता सुशासनको पक्षमा र भ्रष्टाचारको विरुद्धमा रहेको प्रमाणित गर्ने अवसर पनि भएको बताए।