बीबीसी । अरुण ग्रह र यसका पाँच ठूला उपग्रहहरू यसअघि वैज्ञानिकहरूले विश्वास गरेजस्तो मृत र जीवनको कुनै उपस्थिति हुन नसक्ने प्रकृतिको नहुन पनि सक्ने देखिएको छ । बरू तिनमा समुद्रहरू हुन सक्ने र कतिपय उपग्रहमा त जीवनलाई सम्भव तुल्याउन सक्ने परिस्थिति समेत रहेको हुन सक्ने वैज्ञानिकहरूले बताएका छन् ।
उक्त ग्रह र यसका चन्द्रमाहरूका बारे हामीलाई हालसम्म थाहा भएको जानकारी झन्डै चालीस वर्षअघि नासाको ‘भोएजर–२’ अन्तरिक्षयानले हासिल गरेको तथ्याङ्कहरूमा आधारित छन् ।
तर हाल गरिएको नयाँ तथ्य विश्लेषणले देखाएअनुसार त्यसबेला ’भोएजर’को यात्राको समयमा त्यहाँ ठूलो सौर्यआँधीको प्रभाव परेको थियो र त्यसका कारण अरुण ग्रहको प्रणाली वास्तवमा कस्तो थियो भन्नेमा अन्योलकारी विचारले प्रधानता पाएको हुन सक्छ ।
‘यूरेनस’ भनिने अरुण ग्रह हाम्रो सौर्यमण्डलको बाहिरी क्षेत्रमा अवस्थित बरफको चक्रले घेरिएको र सुन्दर देखिने ग्रह हो। सबै ग्रहहरूमध्ये सबैभन्दा चिसो ग्रहहरूमा अरुण पनि पर्दछ । अन्य ग्रहहरूको दाँजोमा अरुण ग्रह एकातिर ढल्केको छ, मानौँ केहीसँग ठोकिएर कोल्टे परेको जस्तो।
त्यसैले यसलाई कोहीकोहीले अचम्मको ग्रहसमेत भन्छन् । सन् १९८६ मा ‘भोएजर–२’ अन्तरिक्षयान अरुण ग्रह नजिकैबाट अघि बढ्दा पृथ्वीमा पठाएको सो ग्रह र यसका पाँच ठूला उपग्रहहरू देखिने अद्भुत तस्बिर नै हामीले देखेको यसको सबैभन्दा पहिलो नजिकको तस्बिर थियो ।
तर वैज्ञानिकहरूलाई अझ धेरै चकित तुल्याएको त ‘भोएजर–२’ ले पठाएको तथ्याङ्कले थियो जसले अरुण ग्रहको प्रणाली तिनीहरूले सोचेको भन्दा पनि अनौठो भएको सङ्केत गरेको थियो । उक्त अन्तरिक्षयानमा जडित उपकरणहरूले गरेको मापनअनुसार उक्त ग्रह र यसका चन्द्रमाहरू निष्क्रिय छन्, जुन अवस्था बाह्य सौर्यप्रणालीका अन्य उपग्रहरूभन्दा भिन्न हो।
त्यसबेला प्राप्त तथ्याङ्कहरूले अरुण ग्रहको सुरक्षात्मक चुम्बकीय क्षेत्र पनि अनौठो ढङ्गले तन्किएको देखाए। त्यो केही थिचिएको जस्तो गरी सूर्यभन्दा टाढा धकेलिएको जस्तो देखिएको थियो ।
कुनै पनि ग्रहको चुम्बकीय क्षेत्रले उक्त ग्रह र त्यसका चन्द्रमाहरूबाट निस्कने ग्यासहरू र अन्य पदार्थलाई आफूमा अल्झाएर राख्ने गर्दछ। त्यस्ता ग्यास र पदार्थहरू ती ग्रह तथा उपग्रहमा रहेका समुद्र वा अन्य भौगर्भिक गतिविधिका कारण उत्पन्न भएका हुन सक्छन्।
‘भोएजर–२’ ले त्यस्तो केही पनि फेला पारेन, जसको अर्थ यूरेनस वा अरुण ग्रह र त्यसका पाँच ठूला चन्द्रमा निष्क्रिय र जीवनको उपस्थिति हुन नसक्ने खालको रहेको भन्ने हुन्छ । यो जानकारीलाई एकदमै ठूलो आश्चर्यका रूपमा लिइएको थियो किनकि यो सौर्यप्रणालीका अन्य ग्रह र तिनका चन्द्रमाहरूको अवस्थाभन्दा भिन्न थियो।