हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ चौकीटोलबाट प्रहरीले अवैध विदेशी मुद्रासहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भारत उत्तर प्रदेश जिल्ला जालौन बस्ने ४० वर्षीय विजय सिंह कुशवाह, उत्तर प्रदेश जिल्ला गोरखपुर बस्ने २६ वर्षीय प्रशान्त पाठक र राजस्थान चितोरगढ बस्ने ३२ वर्षीय राहुल कुमार माण्डावत रहेका छन् ।
उनीहरुलाई विशेष सूचनाको आधारमा खटिएको मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्कासहितको टोलीले आइतबार पक्राउ गरेको हो । प्रहरी उपरीक्षक खड्काका अनुसार, आइतबार राति पौने ९ बजेको समयमा काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ज ०७६५ नम्वरको इभी माइक्रो बसलाई रोकी जाँच गरिएको थियो ।
त्यसक्रममा विजय सिंह कुशवाहको साथबाट अमेरिकन डलर १२ हजार, प्रशान्त पाठकको साथबाट युरो १४ हजार र राहुल कुमार माण्डावतको साथबाट अमेरिकी डलर २० हजार बरामद भएको थियो ।
बरामद अमेरिकी डलर आजको बजार अनुसार ४३ लाख ३० हजार ५ सय १५ रुपैयाँ र युरो १९ लाख ६९ हजार ५ सय १५ रुपैयाँ रहेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।
पक्राउ परेका उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय ललितपुर पठाउने तयारी भइरहेको प्रहरी उपरीक्षक खड्काले बताए ।