ढाका । बङ्गलादेशका प्रमुख राजनीतिक दलहरूले हिन्दू प्रदर्शनकारी र सुरक्षा बलबीच भएको झडपमा एक वकिल मारिएपछि व्यापक अशान्तिका बीच शान्तिको आह्वान गरेका छन् ।
एउटा र्यालीका क्रममा बङ्गलादेशी झण्डाको अनादर गरेको आरोपमा पक्राउ परेका हिन्दू आध्यात्मिक गुरु चिन्मय कृष्ण दास ब्रह्मचारीका आक्रोशित समर्थकहरूले उनलाई जमानत नदिइएपछि प्रहरीसँग भएको झडपमा सार्वजनिक अभियोजक सैफुल इस्लाम अलिफको मङ्गलबार मृत्यु भएको थियो ।
धार्मिक सम्बन्धहरू १७ करोड जनसङ्ख्या भएको बहुसङ्ख्यक मुस्लिम राष्ट्र बङ्गलादेशमा अस्थिर भएका छन् । यहाँ विद्यार्थी नेतृत्वको क्रान्तिले अगस्टमा स्वेच्छाचारी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गरी छिमेकी भारतमा पलायन गर्न बाध्य बनाएको थियो ।
हसिनाको १५ वर्षको कार्यकालका दुई मुख्य प्रतिद्वन्द्वी बङ्गलादेश नेसनल पार्टी (बिएनपी) र जमात–ए–इस्लामीले संयम अपनाउन आग्रह गरेका छन् ।
प्रथम आलो दैनिकले शुक्रबार बिएनपी महासचिव मिर्जा फखरूल इस्लाम आलमगिरलाई उद्धृत गर्दै हसिनाको अवामी लिगको सन्दर्भमा पछिल्लो भड्काउको पछाडि ‘पराजित फासीवादी समूह’ रहेको बताएको थियो ।
“यो घटना पूर्णतः अनुचित छ”, उनले भने, “हामी यसको कडा निन्दा गर्दछौँ र सबैलाई परिस्थितिलाई शान्तपूर्वक हेर्न आग्रह गर्दछौँ ।”
जमातका शफिकुर रहमानले निरन्तर अशान्तिको दोष ‘देशलाई अस्थिर पार्ने षड्यन्त्रकारी निहित समूह’ माथि लगाए ।
यद्यपि इन्टरनेसनल सोसाइटी फर कृष्ण कन्सेसनेस (इस्कोन) माथि प्रतिबन्ध लगाउने मागका लागि सडकमा विरोध प्रदर्शनको आह्वान गरिएको छ । हरे कृष्ण आन्दोलनका रूपमा पनि चिनिने इस्कोन अन्तर्राष्ट्रिय हिन्दू धार्मिक समूह हो र यसमा दास कथित रूपमा संलग्न थिए ।
इस्लामिक शिक्षालयहरूको सामूहिक हेफाजत–ए–इस्लामले शुक्रबार इस्कोनमाथि प्रतिबन्धको माग गर्दै र्याली आयोजना गरेको थियो । उसले इस्कोनलाई भारतका तर्फबाट हसिनालाई सत्तामा फिर्ता गर्ने मोर्चा हो भनेर आरोप लगाएको थियो ।