मोरङ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले शिक्षा र खेलकुदबीच नङ र मासुको सम्बन्ध रहेको बताएका छन् ।
बूढीगङ्गा गाउँपालिकास्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड कप प्रतियोगिता एवं तेस्रो बृहत् प्रतिभा पहिचान वक्तृत्वकला–२०८१ को आज उद्घाटन गर्दै उनले विद्यालयस्तरमा खेलकुद प्रतियोगिताले विद्यार्थीको प्रतिभा प्रष्फुटन हुनुका साथ अध्ययन र अनुशासन कायम गर्नमा सहयोग पुग्ने विचार व्यक्त गरे ।
सरकारले विद्यालयस्तरमा खेलकुदको आवश्यकता चाहिन्छ भनेर ‘राष्ट्रपति रनिङ कप’ लाई धेरै महत्त्व दिएको उल्लेख गर्दै उनले आर्थिक वर्षदेखि स्थानीय तहमा बजेटसहित प्रशिक्षक पठाउने जानकारी दिए ।
मन्त्री चौधरीले विराटनगरमा रहेको गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई सरकारले राष्ट्रिय गौरवको बहुवर्षीय योजनाभित्र राखेको जानकारी दिए । जसका लागि ३ अर्बभन्दा बढीको बजेट विनियोजन गरी चाँडै निर्माण प्रक्रिया सुरू गर्ने उनी बताउछन् ।