व्यवस्थापन कानुनको पढाइ सञ्चालन गर्दै मनमोहन प्राविधिक विश्वविद्यालय



विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालयले कानूनतर्फ पनि स्नातक र स्नातकोत्तर तहको पढाइ सुरु गर्ने भएको छ ।

विश्वविद्यालयले विराटनगरमा यही मङ्सिरदेखि पठनपाठन सुरु हुने गरी स्नातकतर्फ बिएए एलएलबी र स्नातकोत्तरतर्फ अपराधशास्त्रमा एलएलएम कक्षा सुरु गर्ने तयारी पूरा गरेको जनाएको छ ।


स्नातकतर्फ नेपालमै पहिलोपटक बिबिए एलएलबीको पाठ्यक्रम निर्माण गरेर पढाइ सुरु गर्न लागेको विश्वविद्यालयका उपकुलपति डा सुवासश्री पोखरेलले जानकारी दिए । ‘व्यवस्थापन विषयसँगै कानुनमा दक्ष जनशक्ति उत्पादन गर्न हामीले नयाँ नमूना कोर्स निर्माण गरेर पठनपाठन सुरु गराउन लागेका हौँ’, उनले भने ।

उपकुलपति पोखरेलका अनुसार बिबिए एलएलबीको कोर्स पाँच वर्षको हुनेछ । विद्यार्थीहरूले चार लाख ५० हजार रुपैयाँमै यो कोर्स अध्ययन गर्न पाउनेछन् । यो कोर्स पढ्न चाहने विद्यार्थीहरूलाई विशेष छात्रवृत्तिको व्यवस्था पनि गरिएको र त्यसमा महिला, दलित लगायतलाई ४५ सिटको कोटामध्येबाट दश प्रतिशत छात्रवृत्ति प्रदान गरिनेछ ।

उपकुलपति डा पोखरेलले भने, ‘बिबिए एलएलबी कोर्षमा सैद्धान्तिकभन्दा बढी प्रयोगात्मक शिक्षामा जोड दिइनेछ । यो विषय पढ्ने विद्यार्थीहरू अनुसन्धान र सर्वे गर्नेदेखि डिजिटल अपराधका बारेमा पनि प्रयोगात्मक ज्ञान पाउनेछन् । यसैगरी खरिद प्रक्रियाबारे पनि विद्यार्थीलाई प्रयोगात्मक ज्ञान दिइनेछ ।’

विश्वविद्यालयका कानुनी सल्लाहकार कोषराज न्यौपानेले विदेशबाट समेत विज्ञ शिक्षकहरू ल्याएर अध्यापन गराइने बताए । उनले अध्ययन गर्न चाहनेहरूले यही कात्तिक मसान्तभित्र अनलाइनमार्फत आवेदन दिइसक्नुपर्ने जानकारी दिए ।

कोशी प्रदेश सरकारले स्थापना गरेको देशकै पहिलो प्राविधिक विश्वविद्यालयले सिभिल र इलेक्ट्रोनिक्स एन्ड इलेक्टिक इन्जिनियरिङमा स्नातक, वि–फर्मातर्फ स्नातक र अस्पताल व्यवस्थापनतर्फ स्नातकोत्तर तहको पढाइ सुरु गरिसकेको छ ।

विसं २०७६ मा स्थापना भएको यस विश्वविद्यालयले १० वर्षभित्र तीन वटा स्कुलअन्तर्गत विभिन्न २८ विषयमा विद्यावारिधि (पिएचडी) सम्मको पठनपाठन गराउने लक्ष्य लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here