दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाललाई दिएका छन् ।
छिमेकी देश चीन भ्रमणमा जान लागेका मुख्यमन्त्री आचार्यले आफू नफर्किदा सम्मकालागि मन्त्री ढकाललाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिएका हुन्।
मुख्यमन्त्री आचार्यले कार्तिक २५ गते आज आइतबारदेखि लागू हुनेगरी लुम्बिनी प्रदेश सरकार कार्य सम्पादन नियमाली २०७४ पछिल्लो संशोधनको नियम १४ को उपनियम ३ बमोजिम मन्त्री ढकाललाई कार्यवाहक मुख्यमन्त्रीको कार्यसम्पादन गर्नेगरी जिम्मेवारी तोकेका हुन्। नेपालको संविधान र अन्य प्रचलित कानूनको अधीनमा रही तोकिएको कार्य जिम्मेवारी सम्मादन गर्न अनुरोध गरिएको छ ।
सिचुआन प्रान्तमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन मुख्यमन्त्री आचार्यसहित ७ सदस्यीय प्रतिनिधिमण्डल चीन जान लागेको हो ।
सिचुआन प्रान्तमा समन्वय र विकासको बिषयमा छलफल गर्न कार्तिक २६, २७ र २८ गते अन्तर्राष्ट्रिय सम्मेलन हुँदैछ । यो भ्रमणले लुम्बिनी प्रदेश सरकार र चीनको सिचुआन प्रान्तबीच पारिस्परिक सहयोग तथा सद्भाव थप अभिवृद्धि गर्ने विश्वास लिइएको छ ।
भ्रमणको क्रममा लुम्बिनी प्रदेशको समग्र विकासका योजनालाई अघि बढाउन दुईपक्षीय सहयोग र सहकार्यको बारेमा समेत उच्चस्तरीय भेटवार्ता हुनेछ ।
वि.सं. २०७६ सालमा प्रदेश सरकार र सिचुआन प्रान्तबीच भगिनी सम्वन्ध कायम गरिएको थियो । तत्कालीन मुख्यमन्त्री शंकर पोख्रेलले सिचुआन प्रान्तबीच भगिनी सम्वन्ध कायम गरेका थिए ।
कृषि, उद्योग, पर्यटन लगायतका क्षेत्रमा लुम्बिनी प्रदेश सरकार र सिचुआन प्रान्तबीच सहयोग आदानप्रदान गर्ने समझदारी भएको थियो ।