काठमाडौँ । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको रुपन्देहीमा बयान सकिएको छ । जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा बिहीबार रविसँग बयान लिइएको हो ।
बुटवलको सुप्रिम सहकारी ठगी गरेको आरोपमा उनलाई मंलबार कास्कीबाट रुपन्देही ल्याएको थियो । रुपन्देहीमा उनीसँग तीन दिन बयान लिएको हो ।
लामिछानेलाई जिल्ला अदालत कास्कीले आइतबार थप १३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।
कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई पहिलोपटक कात्तिक ४ गते ५ दिनको म्याद थप गरिएको थियो भने पुनः दोस्रोपटक सात र तेस्रो पटक १० दिनको म्याद थप भएको थियो।
लामिछानेविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दामा अनुसन्धान गरिरहेको छ।
प्रहरीले सहकारी ठगी मुद्दामा बढीमा २५ दिन, संगठित अपराधमा बढीमा ६० दिन र सम्पत्ति शुद्धीकरण मुद्दामा बढीमा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न मिल्छ ।