पोखरा । प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि रुपन्देही लैजाँदै छ ।
सहकारीको रकम घोटाला प्रकरणमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई प्रहरीले आज रुपन्देही लैजान लागेको हो । बुटवल लैजनाका लागि प्रहरीले रविलाई कडा सुरक्षाका बीच पोखरा विमानस्थल पुर्याएको छ ।
सहकारीको रकम अपचलन गरेको कसुरमा अनुसन्धानका लागि प्रहरीले उनलाई २ कात्तिकमा काठमाडौंबाट पक्राउ गरेको थियो । त्यसपछि उनलाई अनुसन्धानका लागि पोखरा लगिएकोमा पटक–पटक म्याद थप भएको छ ।
आइतबार मात्रै उनलाई १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले म्याद थप गरिदिएको छ । कास्की प्रहरीले पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेलगायतको प्रकरणमा अनुसन्धान गरिरहेको छ ।
रुपन्देही प्रहरीले भने उनीमाथि बुटवलमा रहेको सुप्रिम सहकारीलगायतको रकम अपचलनमा अनुसन्धान गर्न लागेको हो । जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई पक्राउ गर्न अनुमति प्रहरीलाई दिइसकेको छ ।