बेरुत । सिरियाली बाथ पार्टीको लेबनानी शाखामा आइतबार मध्य बेरुतमा भएको इजरायली हमलामा हिजबुल्लाहका प्रवक्ता मोहम्मद अफिफ मारिएको लेबनानी सुरक्षा स्रोतले जनाएको छ ।
‘रास अल–नबामा भएको आक्रमणमा हिजबुल्लाह मिडिया सम्बन्ध अधिकारी मोहम्मद अफिफको मृत्यु भएको छ’, सुरक्षा स्रोतले नाम नछाप्न अनुरोध गर्दै भन्यो ।
बाथ पार्टीको लेबनानी शाखाका महासचिव अली हिजाजीले ‘हिजबुल्लाह मिडिया अधिकारी अफिफको मृत्यु भएको पुष्टि गर्नुभएको’ आधिकारिक राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले जनाएको छ । इजरायली सेनाले यस विषयमा टिप्पणी गर्न अस्वीकार गरेको छ ।
लेबनानको स्वास्थ्य मन्त्रालयले आक्रमणमा एक जनाको मृत्यु भएको र अन्य तीन जना घाइते भएको उल्लेख गर्दै मृतकको सङ्ख्या अस्थायी रहेको र आक्रमण स्थलबाट भग्नावशेष हटाउने काम जारी रहेको बताएको छ ।
अफिफले वर्षौंदेखि हिजबुल्लाहको मिडिया सम्बन्धको जिम्मेवारी सम्हालेका थिए र अज्ञातताको आडमा स्थानीय र विदेशी पत्रकारहरूलाई जानकारी प्रदान गर्दै आएका थिए ।
फ्रान्सेली दूतावास र विश्वविद्यालय नजिकैको रास अल–नबामा ‘भग्नावशेषमुनि फसेका’ अनिर्दिष्ट सङ्ख्यामा मानिसहरू रहेको रिपोर्ट गर्दै एनएनएले ‘शत्रु विमान’ ले गरेको आक्रमणले ‘ठूलो विनाश’ गरेको जनाएको छ ।
सेप्टेम्बरको अन्त्यमा लामो समयदेखि हिजबुल्लाहका प्रमुख हसन नसरल्लाहको ठूलो इजरायली हमलामा हत्या भएपछि अफिफले बेरुतको दक्षिणी उपनगरहरूमा धेरै पत्रकार सम्मेलनहरू गरेका थिए ।
गत महिना यस्तै एउटा घटनामा अफिफले हिजबुल्लाहले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको निवासलाई निशाना बनाएर ड्रोन प्रहार गरेको घोषणा गरेका थिए ।
इजरायली सेनाले नजिकैको भवनमा आक्रमण गर्ने चेतावनी दिएपछि त्यो पत्रकार सम्मेलन त्यतिबेला रोकिएको थियो ।