प्रधानमन्त्री ओलीको चीन भ्रमण तयारीको संयोजन परराष्ट्रमन्त्री देउवाले गर्ने



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण तयारीको संयोजन परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले गर्ने भएकी छन् । हिजो (मंगलबार) बसेको कांग्रेस–एमालेको संयुक्त बैठकले प्रधानमन्त्री ओली र कांग्रेसका सभापति शेरबहादुर देउवाको निर्देशनमा चीनको औपचारिक भ्रमणको तयारीको संयोजनको जिम्मा परराष्ट्रमन्त्री देउवालाई दिने निर्णय गरेको हो ।

चिनियाँ प्रधानमन्त्री लि छियाङको निमन्त्रणामा आगामी डिसेम्बर महिनामा प्रधानमन्त्री ओलीको मित्र राष्ट्र चीनको औपचारिक भ्रमणमा जाने बताइएको छ ।


त्यस्तै, हिजो बसेको उक्त बैठकले वर्तमान सयुंक्त सरकारलाई सफल र प्रभावकारी बनाउन ८ सदस्यीय संयन्त्रसमेत बनाइएको छ । संयन्त्रमा कांग्रेसबाट महामन्त्री गगन थापा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा छन् ।

त्यस्तै, एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल संयन्त्रमा रहेका छन् । एमाले–कांग्रेसले सरकारलाई सफल बनाउन केन्द्रमा मात्रै नभएर प्रदेश र जिल्ला तहमा समेत संयन्त्र बनाउने बताइएको छ ।

कार्यदलको संयोजन दुई दलले एक–एक महिना पालैपालो गर्ने बताइएको छ । पहिलो महिना (कार्तिक २१ देखि मंसिर २० सम्म) कांग्रेसका उपसभापति खड्काले कार्यदलको बैठकको संयोजन गर्ने बताइएको छ ।