काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणसम्बन्धी प्रस्ताव अर्को दिन बस्ने मन्त्रिपरिषद् बैठकमा मात्र पेस हुने भएको छ ।
एक मन्त्रीका अनुसार सोमबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीको चीन भ्रमणबारेको प्रस्ताव पनि आउने अपेक्षा गरिएपनि परराष्ट्रमन्त्रीको चीन भ्रमणको मात्र प्रस्ताव आएको हो ।
‘पहिला परराष्ट्रमन्त्रीको स्वीकृत गर्ने त्यसपछि मात्र प्रधानमन्त्रीको भ्रमणबारे प्रस्ताव लगेर स्वीकृत गर्ने तयारी अनुसार आजको बैठकमा प्रस्ताव नआएको बुझिएको छ’, एक मन्त्रीले भने, ‘बिहीबार बस्ने नियमित बैठकमा प्रधानमन्त्रीको चीन भ्रमणको प्रस्ताव ल्याएर स्वीकृत गर्ने देखिन्छ ।’
प्रधानमन्त्री ओली मंसिर १७ गते पाँच दिने चीन भ्रमणमा जाँदैछन् । सोमबारमात्रै प्रधानमन्त्रीले आफ्नो चीन भ्रमणबारे सरोकारवालासँग परामर्श गरेका थिए । सोमबारको बैठकले प्रधानमन्त्रीको चीन भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री आरजु राणा देउवाको मंसिर १३ बाट चीन भ्रमण प्रस्ताव स्वीकृत गरेको छ ।