त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द हुने



काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए) आजदेखि करिब पाँच महिना दैनिक १० घण्टा बन्द हुने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का अनुसार विमानस्थलको स्तरोन्नतिका लागि आजबाट दैनिक १० घण्टा उडान बन्द गरेर विस्तारको काम गर्न लागिएको हो ।


प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सीवे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’लगायत विस्तार गर्नेछ ।

यी काम पूरा गर्न रु १५ अर्ब खर्च हुने आयोजनाले जनाएको छ । स्तरोन्नतिका क्रममा राति १०ः०० देखि बिहान ८ः०० बजेसम्मका सबै उडान कटौती हुनेछन् ।

हाल विमानस्थल बिहान ६ः०० बजे खुलेर राति २ः०० बजेसम्म सञ्चालन हुँदै आएको थियो । आयोजना प्रमुख दीपेन्द्र श्रेष्ठले टीआइएको धावनमार्गसँगै समानन्तर हुने गरी ट्याक्सीवे बनाउन लागिएको बताए ।

उनले उडान सुरक्षामा कुनै खतरा उत्पन्न नहोस् भनेर उडान बन्द गरिएको उल्लेख गरे । नेपालमा हाल तीन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थापनाको ७४ वर्षपछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएका हुन् ।

मुलुकको जेठो अन्तर्राष्ट्रिय विमानस्थल टीआइएको पटकपटक मर्मत र क्षमता अभिवृद्धि गरिँदै आएको छ । विसं २०७७ मा सो विमास्थलको धावनमार्ग विस्तार गरी तीन हजार तीन सय मिटर कायम गरिएको थियो ।

त्यतिबेला पनि बेलुका ६ः०० देखि बिहान ६ः०० बजेसम्म दैनिक १२ घण्टा उडान बन्द गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here