घरघरमा धारा, खानेपानी जोह गर्न कुवातिर



मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिका–२ डाडाँगाउँमा प्रत्येक घरको आगमनै धारा छ । तर यहाँका स्थानीय कुवा धाउन बाध्य छन् । एक घर–एक धारा अभियान अन्तर्गत डेढवर्ष अघि मात्र इच्छाकामना गाउँपालिका, ‘वाइनटु वाटर’ नेपाल र स्थानीय उपभोक्ताको सहकार्यमा लिफ्टिङ प्रविधिबाट सञ्चालन गरिएको तेर्से– भोर्ले– डाडाँगाउँ खानेपानी आयोजनाको सोलारले काम गर्न छाडेपछि यहाँका स्थानीय खानेपानी जोह गर्न कुवा धाउन बाध्य भएका हुन् ।

उपभोक्ता समितिका अध्यक्ष दीपक गुरुङका अनुसार आयोजना सम्पन्न भएको ६ महिनामै सोलारले काम गर्न छाडेपछि यहाँका स्थानीय समस्यामा परेका हुन् । एक वर्षदेखि यहाँका बासिन्दा झण्डै एक घण्टाको बाटो हिँडेर पानी लिन जान बाध्यक्ष छन् । डाँडागाउँमा मात्र होइन सोही आयोजनाअन्तर्गत भोर्ले र तेर्से गाउँमा पनि समस्या उस्तै छ । घर–घरमा धारा भए पनि एक वर्षदेखि पानी नआएको तेर्सेका सुकबहादुर गुरुङले बताए ।


लामो समय भइसक्दा पनि खानेपानी समस्या समाधानमा गाउँपालिकाले बेवास्ता गरेको उपभोक्ताको गुनासो छ । आयोजनाअन्तर्गत ४२ परिवार रहेका छन् । बयालिस परिवारका स्थानीयले खानेपानीको समस्या झेलिरहेका छन् । तत्काल गाउँपालिका र साझेदार संस्था ‘वाइनटुवाटर’का कर्मचारीलाई जानकारी गराए पनि समस्याको बेलैमा सुनुवाइ नभएको स्थानीय बताउँछन् ।

स्थानीय दीपक गुरुङले भने, “सोलारले पानी तान्न छाडेपछि तत्काल गाउँपालिका र वाइनटुवाटरलाई जानकारी गराएका थियौँ । महिनौँ दिनसम्म प्राविधिक पठाएनन् ।” ढिला गरी प्राविधिक आए पनि काम सुरु गर्न ढिलाइ गरेको उनको भनाइ छ । वाइनटुवाटरका वास संयोजक यज्ञराज जोशीले भने स्थानीयले ढिला जानकारी गराउँदा समस्या समाधान हुन समय लागेको बताए ।

अहिले सर्भे गरी समस्या पहिचान गरिएको र चाँडै समाधान हुने गुरुङले बताए । उनले भने, “हामीले वैकल्पिक ऊर्जाका प्राविधिक ल्याएर रिर्पोट तयार पारिसकेका छौँ, केही दिनभित्र काम सुरु गछौँ ।” उनका अनुसार सो स्थानमा घाम केही समय मात्र लाग्ने र लामो दुरी भएका कारण समस्या आएको हो । सोलारले काम नगरेको अवस्थामा विद्युत्बाट सञ्चालन हुने गरी व्यवस्था गर्न गाउँपालिकासँग छलफल भएको उनको भनाइ छ ।

गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले दीर्घकालीन रुपमा टिकाउ हुने गरी समस्याको सामाधान गरिने बताए । तत्कालका लागि अस्थायी रुपमा खानेपानी समस्या सामाधान गर्न पुरानो मुहानबाट पानी ल्याउन पाइप उपलब्ध गराइने उनले बताए । केही दिनमै काम सुरु गरिने र एक महिनाभित्र समस्या समाधान गरिने उनको भनाइ छ ।

गाउँपालिका, वाइनटुवाटर नेपाल र स्थानीय उपभोक्ताको साझेदारीमा रु ५८ लाखको लागतमा २०८० साल जेठ ३० गते आयोजना सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here