पोखरा । तेस्रो संस्करणको क्रस कन्ट्री दौडमा च्यालेन्ज इन्डिभिजुअल इभेन्टमा चिनियाँ धावकले वर्चस्व कायम गरेका छन्। शनिबार पोखरामा भएको प्रतियोगिताको टिम इभेन्टमा भने नेपाली धावकको दबदबा रह्यो।
५० किलोमिटर दूरीमा भएको इन्डिभिजुअलतर्फ महिला पुरुष दुवैतर्फ चिनियाँ धावक विजयी भएका हुन्। च्यालेन्ज इन्डिभिजुअलमा पुरुषतर्फ एङ ज्याङ जेनले तीन घन्टा ४४ मिनेट १२ सेकेन्डमा दूरी पार गर्दै विजेता भए।
महिलातर्फ धाविका झेङ वाङ रोङले जितिन्। उनले ४ घन्टा ४१ मिनेट ४८ सेकेन्डमा दूरी पूरा गरेकी हुन्।
पुरुषतर्फ नेपाली धावक कुलबहादुर बस्नेत ४ मिनेट १० सेकेन्डले पछि पार्दै दोस्रो भए। उनले तीन घन्टा ४८ मिनेट ०२ सेकेन्डमा दौड पूरा गरे।
नेपाली धावक होमलाल श्रेष्ठले तीन घन्टा ५३ मिनेट ३३ सेकेन्डमा दूरी पूरा गरी तेस्रो बनेका छन्। गोपाल तामाङले तीन घन्टा ५५ मिनेट ४३ सेकेन्डमा दूरी पूरा गरेर तेस्रो हुँदा तिलक सुनुवार चार घन्टा ४६ सेकेन्डमा पूरा गर्दै पाँचौँ बने।
महिलातर्फ कल्पना बुढा ९ मिनेटपछि परी दोस्रो भएकी छन्। उनले चार घण्टा ५० मिनेटमा दूरी पार गर्न सफल भइन्। राममाया बुढा तेस्रो, लाक्पा निङमा शेर्पा चौथो र मिनु बुढा पाँचौँ भए। उनीहरुले क्रमशः पाँच घण्टा आठ मिनेट १८ सेकेन्ड, पाँच घण्टा २५ मिनेट २५ सेकेन्ड र पाँच घण्टा ३० मिनेट ३९ सेकेन्डमा दूरी पार गरेका हुन्।
च्यालेन्ज इन्डिभिजुअलमा पुरुष तथा महिला दुवैतर्फका विजेताले समान एक लाख ५२ हजार ८०० रुपैयाँ, उपविजेताले एक लाख १४ हजार ६०० रुपैयाँ, तेस्रोले ७६ हजार ४०० रुपैयाँको साथमा मेडल र प्रमाणपत्र प्राप्त गरे।
टिम इभेन्टमा भने नेपाली खेलाडीको वर्चश्व रह्यो। सुशील शाही, सिर्जना पौडेल र श्रीकाश राईको समूहले चार घन्टा २० मिनेट १४ सेकेन्डमा निर्धारित दूरी पूरा गरेर च्याम्पियन बने।
करन रावत, नरेन्द्र सिंह रावत र निर्मला राईको समूहले चार घन्टा २२ मिनेट २९ सेकेन्डमा दौड सकेर दोस्रो भयो। पुष्पा भण्डारी, लक्ष्मण भण्डारी र निरज भट्टको समूहले चार घन्टा २३ मिनेट ०८ सेकेन्डमा दूरी पार गर्दै तेस्रो भयो।
टिम इभेन्टतर्फका विजेताले चार लाख ५८ हजार ४०० रुपैयाँ, उपविजेताले तीन लाख ४३ हजार ८०० रुपैयाँ, तेस्रोले दुई लाख २९ हजार २०० रुपैयाँ हात पारेका छन्।
टिम इभेन्टतर्फ १९ टिम सहभागी रहेकोमा चीनको ४ टोली सहभागी थियो। इन्डिभिजुअतर्फ नेपाली महिला तथा पुरुष ८७ र चीनका २९ जना धावकले दौडिए।
हिमालयन टुरिजम फोरमले आयोजना गरेको दौडको उद्घाटनस्थल पोखराको बाराहीघाटमा सँस्कति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे, नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य लगायत सहभागी थिए।
दौड बाराहीघाटबाट सुरु भएर राष्ट्रबैंक चोक, ड्यामसाइड, छोरेपाटन, फुस्रेखोला, रामदी, मट्टीखान, देउराली, फेदीखोला, दमगडे स्कूल, साल्मेडाँडा, रामकोट, कुविन्डे, उल्लेरी, थाप्ले टाइगर हिल, काब्रे, पुम्दीभुम्दी, तालपारी, द बिच रेस्टुरेन्ट हुँदै बाराहीघाटमा टुंगियो।