कोशीका पूर्वमन्त्री लिलाबल्लभ पक्राउ परेकोबारे प्रदेश सभाले निकाल्यो सूचना



काठमाडौं । कोशी प्रदेश सरकारका पूर्वमन्त्री तथा एमाले नेता लिलाबल्लभ अधिकारी पक्राउ परेको विषयमा कोशी प्रदेशसभाले सूचना टाँस गरेर जानकारी दिएको छ । कोशी प्रदेश सभाले प्रदेशसभा नियमावलीको नियम १९० को उपनियम २ अनुसार जानकारी दिएको उल्लेख छ । मानव बेचबिखनको आरोपमा अनुसन्धानका लागि प्रहरीले आइतबार अधिकारीलाई विराटनगरबाट पक्राउ गरी काठमाडौँ ल्याएको छ ।

उनलाई यसअघि एमालेले पार्टीको सबै जिम्मेवारीसहित साधारण सदस्यबाट समेत निलम्बन गरेको छ । प्रदेश सभाले सूचना टाँस गरेर जानकारी दिएसँगै अधिकारी प्रदेश सांसदबाट निलम्बित भएका छन् । उनलाई आइतबारै प्रहरीले दुई दिन अदालतबाट हिरासतमा राखेर अनुसन्धान गर्ने समय लिएको छ । प्रदेशसभा नियमावलीको नियम १९० मा प्रदेशसभाको सदस्य पक्राउ सम्बन्धी व्यवस्था छ । सो नियमको उपनियम २ मा बैठक नचलेको अवस्थामा प्राप्त भएको सूचना सचिवालयको सूचना पाटीमा टाँस गरी प्रचारप्रसार गर्नुपर्ने व्यवस्था रहेको छ ।


सोही नियमको उपनियम ३ मा त्यस्तो सदस्यलाई प्रदेशसभाको सदस्यको हैसियतमा काम गर्न रोक लगाउने व्यवस्था रहेको छ । प्रदेश सभा नियमावली १९० को उप नियम ४ मा प्रदेशसभाको सदस्य ३ वर्ष वा सोभन्दा बढी कैद हुने वा नैतिक पतन देखिने फौजदारी अभियोगमा पुर्पक्षको लागि थुनामा गएमा सभामुखले त्यस्तो सदस्यलाई निलम्बन गर्ने व्यवस्था रहेको छ । अधिकारीलाई नेकपा एमाले कोशी प्रदेश संसदीय दलले पनि आइतबार २४ घण्टे स्पष्टीकरण सोधेको छ ।