कैलालीका किसानले गर्दैछन् व्यावसायिक तरकारी खेतीबाट मनग्गे आम्दानी



अत्तरिया (कैलाली) । कैलालीका किसानले व्यावसायिक तरकारी खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन् । पछिल्लो समय यहाँका किसानले व्यावसायिक तरकारी खेतीबाट राम्रो आम्दानी गर्न थालेका हुन् ।

त्यसमध्ये एक हुन् कैलालीको धनगढी उपमहानगरपालिका–६ मटियारीका रामआश्रय राना । उनले तरकारी खेतीबाट वर्षमा रु तीन लाख ५० हजारसम्म आम्दानी हुने गरेको बताए ।


रानाले विगत २५ वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आएको बताए । उनले ११ कठ्ठा जग्गामा तरकारी खेती गर्दै आएका छन् ।

“पाँच कठ्ठा जग्गामा आलु लगाउने गरेको छु । वर्षमा रु एक लाख पचास हजारको आलु मात्रै बिक्री गर्छु । गत वर्ष २५ क्विन्टल आलु बेचेको थिए । यसपटक पनि राम्रै उत्पादन हुने आशा छ”, रानाले भने,“छ जनाको परिवार छ । तरकारी खेतीबाट राम्रैसँग घर खर्च चल्छ । केही बचत पनि हुन्छ ।”

उनले मौषमअनुसार तरकारी लगाउने गरेका छन् । सोही ठाउँका रामदिन रानाले व्यावसायिक तरकारी खेतीबाट वार्षिक दुई लाखभन्दा बढी आम्दानी हुने गरेको बताए ।

लामो समयदेखि व्यावसायिक तरकारीखेती गर्दै आउनुभएका रानाले हाल करिब छ कठ्ठा जग्गामा तरकारी खेती गरेका छन्।

“पाँच जनाको परिवार छ । तरकारी खेतीबाट घरखर्च राम्रैसँग चल्छ । मेहनत बढी भए पनि आम्दानी पनि राम्रै हुन्छ । पछिल्लो समय तरकारीको मूल्य राम्रै पाइरहेका छौँ”,उनको भनाइ छ ।

सोही ठाउँकी अनोखा रानाले पनि व्यावसायिक तरकारी खेतीबाट राम्रो आम्दानी गरिरहेको सुनाइन् । उनले एउटा ‘सिजन’मा रु एक लाखभन्दा बढी आम्दानी हुने गरेको बताइन् ।

“मैले पाँच कठ्ठा जग्गामा तरकारी लगाएकी छु, आम्दानी राम्रै हुन्छ । आम्दानीको अरु स्रोत नभए पनि यसैबाट घरखर्च, छोराछोरीको पठनपाठन र आवश्यक परेका बेला गर्जो टार्न सकिएको छ”, उनले भनिन् ।

उत्पादन गर्न सके बजारको कुनै समस्या नरहेको किसानहरूको भनाइ छ । “आफूलाई पनि दैनिक उपभोग गर्न हुने, अरुलाई ताजा तरकारी दिएमा जस पनि मान्ने र त्यसैबाट आम्दानी पनि हुने । फेरि नजिकै बजार रहेकाले बेच्नलाई कुनै समस्या हुँदैन । बजार भाउ राम्रो भएका बेला त तरकारी बिक्रीबाट राम्रै आम्दानी हुन्छ । यसैमा खुसी छौँ”, यहाँका किसानले भन्ने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here