किरात संस्कृतिको संरक्षण गर्न साखेवा सिली प्रशिक्षण



भोजपुर । भोजपुरमा किराँत संस्कृतिलाई बचाउन साखेवा सिली प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ । पराम्परातगत रूपमा गरिँदै आएका प्रचलनको संरक्षणसँगै संस्कार संस्कृतिलाई नयाँ पुस्तासम्म पुर्‍याउने लक्ष्यले भोजपुरको टेम्केमैयुङ–४ नागीले प्रशिक्षण कार्यक्रम  सञ्चालन गरेको हो ।

किराँत रीतिरिवाजको संरक्षणसँगै संस्कार संस्कृतिलाई नयाँ पुस्तासम्म पुर्‍याउने लक्ष्यले पाँचदिने साखेवा सिली प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको टेम्केमैयुङ–४ का वडाध्यक्ष हर्कराज राईले बताए । प्रशिक्षण कार्यक्रममा ६० जनाले सहभागिता जनाएका छन् । मुख्य रूपमा तीनवटा सिलीको प्रशिक्षण गरिएको हो । आधुनिक प्रविधिको विकाससँगै पराम्परागत चलन लोप हुने खतरा बढ्दै गएकाले नयाँ पुस्तालाई जागरुक गराउन प्रशिक्षण दिएको उनले बताए ।


परीक्षण कार्यक्रममार्फत आप्तुवारुङ सिली, चासुम सिली र तायामा खियामा सिलीको विषयमा मुख्य रूपमा जानकारी दिइएको प्रशिक्षक शरणबहादुर राईले बताए । यस्ता प्रशिक्षण कार्यक्रमले भाषा, संस्कार सस्कृतिको संरक्षण गर्दै पुर्खाले मान्दै आएका चलनको संरक्षण तथा विकासको टेवा पुग्ने उनको भनाइ छ ।

सहभागीलाई श्रव्य, दृश्य तथा अभ्यास गराएर विभिन्न किराँत सिलीको महत्त्व तथा नाच्ने तरिका बारेमा प्रशिक्षण दिइएको किराँत राई वान्तावा खिम भोजपुरका अध्यक्ष लालबहादुर वान्तवा राईले बताए । किराँत रीतिरिवाजसम्बन्धी ज्ञान भएका पुराना पुस्ता सकिँदै गइरहेकाले भावी पुस्तालाई आफ्नो संस्कारप्रति सक्रिय बनाउन कार्यक्रमको आयोजना गरिएको उनको भनाइ छ ।

वडाको पहलमा गरिएको प्रशिक्षण कार्यक्रमले भाषा, संस्कार, संस्कृतिको संरक्षण टेवा पुग्ने सहभागीले बताएका छन् । विभिन्न अवसरमा साखेवा सिली नाचिने भए पनि कतिपयले यसको महत्त्वको तथा नाच्ने तरिका नजानी नाच्ने गरेकाले प्रशिक्षण कार्यक्रम गरिएको आयोजकले जनाएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here