काठमाडौँ जिल्लामा हुने उपनिर्वाचनका लागि एमाले काठमाडौँले क-कस्लाई गर्यो उम्मेदवार सिफारिस?



काठमाडौँ । नेकपा (एमाले) काठमाडौँ जिल्ला कमिटीले आगामी उपनिर्वाचनका लागि उम्मेदवारको सिफारिस गरेको छ । एमाले काठमाडौँ जिल्ला कमिटीको बुधबार बसेको बैठकले नगरकमिटीबाट आएका उम्मेदवारको नामलाई सर्वसम्मत निर्णय गर्दै सिफारिस गरेको हो ।

जिल्ला अध्यक्ष दीपक निरौलाले उपनिर्वाचनमा काठमाडौँ जिल्लाका चार पदका उम्मेदवारको नाम सर्वसम्मत सिफारिस गरिएको जानकारी दिए । नगरकमिटीबाट सिफारिस भएका उम्मेदवारको नामलाई प्रदेश कमिटीमा पठाउने निर्णय गरिएको उनले बताए ।


उनका अनुसार कीर्तिपुर नगरपालिकाको प्रमुखमा डा सुरेन्द्र मानन्धर, कीर्तिपुर वडा नं १ अध्यक्षमा हर्ष महर्जन र ४ मा बद्री बुढाथोकी तथा काठमाडौँ महानगरपालिका–१६ को अध्यक्षमा लक्ष्मीरत्न तुलाधरलाई उम्मेदवार बनाउने सर्वसम्मत सिफारिस गरेको छ ।

कीर्तिपुर नगपालिकाका दुवै वटा वडाको उम्मेदवार बनाउने निर्णय जिल्ला कमिटीलाई अधिकार रहेकाले निर्णय नै गरेको अध्यक्ष निरौलाले बताए ।

अध्यक्ष निरौलाले कीर्तिपुर नगपालिकाको प्रमुख र महानगरको वडाध्यक्षको निर्णय प्रदेश कमिटीले गर्ने भएकाले जिल्ला कमिटीले सिफारिस गरिएको बताए।

अब एमाले बागमती प्रदेश कमिटीको बैठकले जिल्ला कमिटीबाट आएका सिफारिसको आधारमा निर्णय गर्नेछ । कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधन भएपछि उक्त पद खाली थियो ।

देशभरि आगामी मङ्सिर १६ गते देशभर रिक्त रहेका पदमा उपनिर्वाचन हुँदैछ ।