काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमाले नेतृत्वका विरुद्धमा षडयन्त्रपूर्ण कुप्रचार कसको प्रायोजनमा भइरहेको छ भन्दै प्रश्न गरेका छन् ।
शुक्रबार जागरणसभा सुरु हुनुअघि सामाजिक संजालमार्फत महासचिव पोखरेलले नौ प्रश्न गरेका हुन् । उनले अस्थिरता सिर्जना गर्ने उद्देश्य अनुरुप प्रायोजित रुपमा सिर्जित षड्यन्त्र र भ्रमवाट समाज र राजनीतिलाई मुक्त गर्नुपर्ने बताएका छन् ।
उनले नेपालको गुमेको भूभाग समेटेर नक्सा प्रकाशित गर्नु अपराध हो ? भन्दै प्रश्न गरेका छन् ।
यस्ता छन् महासचिव पोखरेलका प्रश्नः
१.नेकपा (एमाले) र त्यसको नेतृत्वका विरुद्धमा षडयन्त्रपूर्ण कु प्रचार किन र कसको प्रायोजनमा भइरहेको छ ?
२. के नेकपा (एमाले) ले स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितका पक्षमा अडान लिनु र नेपालको गुमेको भूभाग समेटेर नक्सा प्रकाशित गर्नु अपराध हो ?
३.नेपालको विकास र समृद्धिका लागि मेघा परियोजनाहरू अघि बढाउनु, सुरुङ, रेल र पानी जहाजको योजना अघि सार्नु गलत हो ?
४. नेपालको विकासका लागि छिमेकी मित्र राष्ट्रहरुवाट सहुलियतपूर्ण ऋण सहायता लिनु के गलत हो ?
५. नेपाललाई भूपरिवेष्टित मुलुकबाट भूजडित मुलुकमा वदल्नका लागि उत्तरी छिमेकी चीनसँग व्यापार र पारवहन सम्झौता गर्नु गलत हो ?
६.के भारतको कलकत्ता पोर्टको विकल्पका रूपमा भारतबाट थप बन्दरगाह प्रयोगको अधिकार सुनिश्चित गर्नु गलत हो ?
७. के नेपालले भैरहवा गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि भारतसँग अनुकूल एअर रुटको माग गर्नु गलत हो ?
८. के नेपालले आफूलाई स्वाधीन राष्ट्रका रुपमा समनताका आधारमा व्यवहारको माग गर्नु गलत हो ?
९. के राष्ट्रको विकास र समृद्धिका लागि सहुलियतपूर्ण ऋण सहायता परिचालन गर्नु गलत हो ?
पोखरेलले एमालेले यस्ता काम गर्नु गलत लागे मात्र विरोध जायज हुन सक्ने बताएका छन् । उनले भनेका छन्, ‘होइन भने देश बनाउनका लागि उसले गरेका राम्रा काममा साथ देऊ । काम गर्नेलाई हौसला देऊ । कमीकमजोरी भए सुझाव देऊ । विकल्प भए विकल्प देऊ । ‘