‘एक मुठ्ठी बादलः माई सेयर अफ स्काई’ लाई ६० हजार युरो पुरस्कार



काठमाडौँ । निर्माणाधीन नेपाली कथानक चलचित्र ‘एक मुठ्ठी बादलः माई सेयर अफ स्काई’ लाई नेदरल्याण्डको ह्युबर्ट बाल्स फण्डमार्फत ६० हजार युरो आर्थिक सहयोग प्राप्त भएको छ ।

पोस्ट–प्रोडक्सन अनुदानका लागि चलचित्र चयन भएपछि उक्त पुरस्कार रकम सोही शीर्षकमा प्राप्त हुने निर्माता सामीप्यराज तिमल्सेनाले जानकारी दिए ।


‘पुरस्कारले चलचित्रको प्राविधिक कामका लागि ठूलो सहयोग पुग्नेछ । योसँगै चलचित्रले अन्तर्राष्ट्रिय मञ्चमा पनि बलियो उपस्थिति जनाउने सम्भावना बढेको छ । हामीले गरेको मेहिनतको फल विस्तारै प्राप्त गर्न लागेको आभाष भएको छ’, उनले भने ।

तिमल्सेनाले ‘एक मुठ्ठी बादल’ चलचित्रमार्फत उक्त फण्डको पोस्ट–प्रोडक्शन अनुदान जित्ने पहिलो नेपाली महिला निर्देशक साहारा शर्मा रहेको जानकारी दिइन् ।

विवाहको पृष्ठभूमिमा बुनिएको उक्त चलचित्रले घरभित्रको सीमित दायराभित्र स्वतन्त्रताको सपना देख्ने एक युवतीको कथा प्रस्तुत गरेको छ । युवतीमाथि समाजले राखेका अनेकन अपेक्षा र आफूभित्र निसास्सिरहेको उनको स्वतन्त्रताको चाहनाबीच उत्पन्न द्वन्द्वलाई चलचित्रले उजागर गर्ने निर्देशक शर्माले बताइन् ।

उनले भनिन्, ‘गृहिणी हुनुका साथै पारिवारिक जीवनको पनि केन्द्रमा रहेका नेपाली समाजका कैयौँ महिलाका अनेक अदृश्य त्याग, सङ्घर्षलाई र निःस्वार्थ योगदानलाई चलचित्रले कथानकमा समेटेको छ । नारीहरूका दुःख, सुख, त्याग, तपस्या, बलिदान र क्षमतालाई विश्वस्तरमा चिनाउने मेरो सधैँ प्रयत्न रहेको छ । यो पुरस्कारले त्यहीतर्फ चालेको हाम्रो यात्रालाई उडान भरेको छ, म अत्यन्तै खुसी छु ।’

चलचित्रमा निशा शर्मा, शेखर चापागाईं, आँचल शर्मा, उषा रजक, मनीष निरौला, सहयोग अधिकारी, गौरव विष्ट, अविरल प्रताप अधिकारी, भीमा मैनाली, अश्मिता गौतमलगायत कलाकारको अभिनय रहेको छ ।