गाजा । गाजाको नागरिक सुरक्षा निकायले आइतबार राति भएको इजरायली ड्रोन आक्रमणमा एक अस्पतालका प्रमुख गम्भीर घाइते भएका र प्यालेस्टिनी भूमिमा इजरायली आक्रमणमा परी ११ जनाको मृत्यु भएको जनाएको छ ।
होसाम अबु साफियाले उत्तरी गाजामा आंशिक रूपमा सञ्चालित दुईमध्ये एक कमल अदवान अस्पतालको नेतृत्व गरिरहेका छन्।
अबु साफियाको ढाड र बायाँ तिघ्रामा धातुको टुक्राले चोट लागेको नागरिक सुरक्षा निकायका प्रवक्ता महमुद बसालले जानकारी दिए ।
उत्तरी गाजाको बेइत लाहियामा रहेको अस्पतालमा इजरायली ड्रोनले गरेको बम बारीमा घाइते भई धेरै रगत बगेपछि उपचारका लागि भर्ना गरिएका चिकित्सकको अवस्था स्थिर रहेको बासलले बताए ।
हमासलाई पुनः संगठित हुनबाट रोक्ने प्रतिबद्धता व्यक्त गर्दै इजरायलले अक्टोबर ६ मा जबालियामा हवाई र जमीनी कारबाहीसुरु गरेको थियो र त्यसपछि यसलाई बेइत लाहियामा विस्तार गरेको थियो।
अस्पतालका कर्मचारीहरूले अस्पतालमा धेरै पटक आक्रमण भएको जानकारी दिएका छन् भने विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस अधानोम घेब्रियससले कमल अद्वान अस्पतालको सघन उपचार कक्षमा रहेका आठ जनासहित ८० जना बिरामीको सुरक्षा र स्वास्थ्यप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् ।
सन् २०२३ को अक्टोबर ७ मा प्यालेस्टिनी लडाकू समूह हमासले इजरायलमाथि गरेको अकल्पनीय आक्रमणपछि इजरायल र हमासबीच युद्ध सुरु भएयता गाजा पट्टीका अस्पतालहरूको सेवा धेरै पटक प्रभावित भएका छन् ।