आजदेखि बिना अवरोध नगराइन नगरपालिकाको कामकाज सुचारु



जनकपुरधाम । विगत पाँच महिनादेखि विवादको कारण दैनिक रुपमा कामकाज बन्द हुने गरेको धनुषाको नगराइन नगरपालिका कार्यालय  आजदेखि बिना अवरोध सञ्चालनमा आएको छ ।

सो पालिकाको सर्वपक्षीय बैठकमा प्रमुख विनयकुमार यादव तथा उपप्रमुख राधादेवी यादवबीच भएको दुईबुँदे सहमति भएपछि कार्यालयको दैनिक कामकाज सञ्चालनमा आएको हो ।


नगराइन नगरपालिका प्रमुख तथा उपप्रमुखबीचको विवादका कारणले लामो समयदेखि सो नगरपालिकाको प्रशासन, लेखा, शिक्षा, कृषिलगायत विकासका अन्य काम ठप्प भएको थियो । त्यहाँ दैनिक जुलुस तथा नारावाजी हुने गरेको थियो ।

उक्त नगरपालिकामा उत्पन्न विवाद  समाधान गर्न बुधबार सर्वदलीय बैठक बसैको थियो । उक्त बैठकमा दुई बुँदे सहमति भएपछि कार्यालय नियमितरुपमा सञ्चालनमा आएको उपप्रमुख यादवले जानकरी दिए ।

बैठकमा स्थानीय तह सरकार सञ्चालनसम्बन्धी ऐन २०७४ अनुसार नगरपालिका सञ्चालन गर्ने र आगामी मङ्सिर ५ गते बुधवार नगरसभा अनिवार्यरुपमा गर्नेगरी सहमति भएको थियो ।

बैठकमा नगरप्रमुख  यादवले स्थानीय सरकार सञ्चालन ऐन, २०७६ खारेज गरी स्थानीय तह सरकार सञ्चालनसम्बन्धी ऐन २०७४ लागू गर्ने प्रतिबद्धता जनाएसँगै एमालेबाट निर्वाचित जनप्रतिनीधिले गरेको आन्दोलन समाप्त भएको उपप्रमुख यादवले  बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here