काठमाडौँ । १६ बुँदे घोषणा पत्र जारी गर्दै सडक सुरक्षामा कार्यरत विज्ञ, पेशागत संगठन तथा युवा अभियान्ताहरुको दुई दिने राष्ट्रिय युवा सम्मेलन काठमाडौँमा सम्पन्न भएको छ ।
समापनको अवसरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले दिगो सडक र सुरक्षित यातायातको क्षेत्रमा नेपाल सरकारले गर्नुपर्ने धेरै नीतिगत कार्यहरु बाँकी रहेको र यो सरकार सो प्रक्रियामा अगाडि बढेको बताए ।
उनले दुई दिने सम्मेलनद्वारा पारित काठमाडौँ धोषणापत्रलाई यथासक्य छिटो नीति र कार्यक्रमसँग जोड्ने प्रतिबद्धता जनाए । युथ फर रोड सेफ्टी इन नेपाल अभियानको व्यवस्थापनमा शुक्रवारदेखि काठमाडौँमा प्रारम्भ भएको सो कन्फ्रेन्सले दिगो पूर्वाधार निमार्ण, गुणस्तरीय र डबल हेल्मेट प्रयोग, सुरक्षा उपकरणमा अनुदान, आवश्यक कानुन निर्माण र कार्यान्वयन, नीति निर्माणमा युवा सहभागिता, पोस्ट क्र्यास रेस्पोन्स, दुर्घटना पीडितलाई सम्बोधन, दिगो र वातावरणमैत्री यातायात, अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट, दक्ष र पारदर्शी यातायात प्रशासन, अन्तरसरकारी समन्वय र पेशागत समुदायको संलग्नता, स्पिड म्यानेजमेन्ट तथा सुरक्षित विद्यालय क्षेत्र, अटोल्यान्ड र गाडीको गुणस्तर, प्रोएक्टिभ राजनीतिक प्रतिबद्धता र अधिकारसम्पन्न सडक सुरक्षा परिषद् गठनजस्ता मागसिहत घोषणा पत्र जारी गरेको छ ।
नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा नेपाल) को संयोजनमा आयोजित यस सम्मेलनका सहभागीहरुले आफैँ समाजको मोडल बन्ने, सडक सुरक्षा मोटिभेटर बन्ने र नागरिक समुदाय परिचालन गर्ने लगायत विषयमा प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
नेसनल युथ कन्फेरन्स फर सेफ एण्ड सस्टेनेवल मोबिलिटी शीर्षकको सो राष्ट्रिय युवा सम्मेलनको कार्तिक ३० गते युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले उद्घाटन गरेका थिए । नेशनल एलायन्स फर सेफ एण्ड सस्टेनेवल मोविलिटी नेपालका संयोजक एवं पूर्वमन्त्री योगेश भट्टराईको अध्यक्षतामा सम्पन्न २ दिने सम्मेलनमा सडक दुर्घटनाबाट हुने अकाल मृत्यु रोक्नका लागि युवाहरुको भूमिकाबारे पूर्वमन्त्री भट्टराईले प्रकाश पारेका थिए ।
देशभरबाट सहभागी भएका करिब १०० जना युवाहरु, अतिथि तथा वक्तालाई युथ फर रोड सेफ्टी इन नेपालका संयोजक ई. किरण धितालले स्वागत गर्दै सम्मेलनको निस्कर्ष आगामी फेबुअरीमा मोरोक्कोमा हुने गोबल युथ एसेम्ब्लीमा प्रस्तुत गरिने जानकारी दिए ।
उद्घाटन समारोहमा बागमती प्रदेश श्रम, रोजगार तथा यातायता मन्त्री प्रेमभक्त मर्हजनले बागमती प्रदेशको यातायात सुधारमा मन्त्रालय कार्यरत रहेको तथा पेशागत संस्थासंग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । त्यसैगरी राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत र नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र शेरचनले सडक सुरक्षा र युवा सहभागितामा आ–आफ्नो संस्थाको प्रतिबद्धता व्यक्त गरे ।
स्टार रेटिङ सेशनमा धुलिखेलको सञ्जीवनी नमुना माध्यमिक विद्यालय र ललिपुरको आदर्श सौलः युवक माध्यमिक विद्यालयलाई स्टार रेटिङ अवार्ड प्रदान गरिएको थियो । समारोहमा सेफ जर्नी टु स्कुल अभियानका संयोजक सुुवाश भट्टराईले स्टार रेटिङ फर स्कुल्सको अन्तर्राष्ट्रिय परिवेश र नेपालमा विद्यार्थीहरुको आगमान र विद्यालयलाई सुुरक्षित बनाउने सम्बन्धी प्रस्तुति गरेका थिए ।
विभिन्न सेशन र वर्कसप गरी सञ्चालन गरिएकोे सो कार्यक्रममा एफआइए वल्र्ड काउन्सिल मेम्बर गोविन्द भट्टराई, इन्टरमोडल टान्स्रपोर्टेसन विकास बोर्डका कार्यकारी निर्देशक आशिष गजुरेल, सडक सुरक्षाकी पीएचडी स्कलर भगवती सेढाई र भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका शंकर धामीले प्रस्तुतीकरण गरेको कि–नोट सेशनको अध्यक्षता राष्ट्रिय युवा संघका उपाध्यक्ष रमेश तिवारीले गरेका थिए ।
त्यसैगरी, प्लेनरी सेशनमा डा. अशिम भण्डारी, दिनेश पाण्डे, सरोज प्रधान र टोपबहादुर जिसीले प्रस्तुतीकरण गरेको सेशनको अध्यक्षता नेपाल अटो मेकानिक्स व्यवसायिक संघका पूर्वअध्यक्ष ठाकुरप्रसाद न्यौपानले गरेका थिए ।
युथ एडभोकेसी सम्बन्धी वर्कसप सेसन युथ फर रोड सेफ्टी इन नेपालका किरण धिताल र मनिका बम्माले सञ्चालन गरेका थिए । नासा नेपालकी सह–कोषाध्यक्ष कमला क्षेत्रीको अध्यक्षतामा भएको सो सेशनका सहभागीहरुले आफ्नो क्षेत्रमा गर्ने कार्ययोजना प्रस्तुत गरेका थिए ।
सम्मेलनको वेल विइङ सेशनमा वातावरण प्रविधि, सोशल मिडिया, युवा र नैतिकता, सञ्चारमाध्यम र कानुनी व्यवस्था विषयबारे डा विदुर ढुंगेल, प्रकाश घर्ती, मञ्जु चित्रकार, एकराज सुवेदी र सामना बरालले प्रस्तुति दिएका थिए ।
त्यसैगरी सम्मेलनको लाइफ सेभिङ सेशनमा डा.बुलन्द थापा, डा. कुलेशबहादुर थापा र विपिन गौतमले पोस्ट क्र्यास रेस्पोन्स सिस्टम, दुर्घटना पश्चात्को प्राथमिक उपचार र मोटरसाइक्लिङ सेफ्टी विषयमा प्रस्तुतीकरण गरेका थिए । सो सेशनको अध्यक्षता डा. ज्योति गिरीले गरेकी थिइन् ।
कार्यक्रममा युवा र सडक सुरक्षा सम्बन्धी प्रस्तुति प्रकृति अर्यालले र सडक दुर्घटनाको पीडित परिवारको तर्फबाट अतिथि वक्ता एन्जीला न्यौपानेले सडक दुर्घटना पीडितलाई सरकारले सबोधन गनुपर्ने विषयमा आ–आफ्नो धारण राखेका थिए ।
सोही समारोहमा नेपाली मोटरस्पोर्टस्, अटोमोवाइल्स मोविलिटी तथा सडक सुरक्षामा विशेष योगदान दिने ठाकुरप्रसाद न्यौपाने, मेघराज पौडेल, पीएन अधिकारी, उज्वलजंग शाह, एकराज सुवेदी र विपिन गौतमलाई मन्त्री दाहालले प्रशंसापत्र प्रदान गरेका थिए ।
समापनमा दिगो सडक र सुरक्षित यातायत, नेपालको दिगो विकास, दिगो पर्यटन तथा उद्यम र रोजगारीको समेत मुख्य आधार रहेकोले दजर्नौ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फैसला, प्रतिबद्धता तथा कार्यक्रमहरु यथासक्य छिटो सुरु गर्न नेपाल सरकारलाई अनुरोध गर्दै अन्तर्राष्ट्रिय अटोमोबाइल फेडरेसन (एफआईए) का वल्र्ड काउन्सिल मेम्बर गोबिन्द भट्टराईले सम्मेलनको निस्कर्ष सडक सुरक्षा सम्बन्धी चौथो विश्व मन्त्रीस्तरीय सम्मेलनमा प्रस्तुत गर्ने बताए ।
सहभागीको अनुभव, धारणा र अनुरोधसहितको भनाई सुस्मिता सुब्बाले दिइन् भने सम्पूर्ण सहभागीहरुको तर्फबाट अंकित भण्डारीले धन्यवाद मन्तव्यसहित १६ बुँदे काठमाडौं घोषणापत्र मन्त्री दाहाललाई हस्तान्तरण गरे ।
कार्यक्रममा बागमती प्रदेश श्रम, रोजगार तथा यातायता मन्त्रालय, राष्ट्रिय युवा परिषद्, त्रिभुवन विश्वविद्यालय, नेसनल रोड सेफ्टी अलायन्स, नासा फाउण्डेशन नेपाल, कवच गिएर्स, एसटिआर एड्भर्टिमेन्टस, टुरमाण्डु नेपाल र मोटरिङ नेपाल लगायत संघसंस्थाको सहकार्य थियो । दुई दिने सो सम्मेलनको सहजीकरण नासा नेपालका उपाध्यक्ष अनिलकुमार बरालले गरेका थिए भने समापन कार्यक्रमको अध्यक्षता नासा नेपालका अध्यक्ष दशरथ रिसालले गरेका थिए ।