काठमाडौं । दैलेखको चामुण्डाबिन्दासैनी नगरपालिका वडा नं.– ७ का वडाध्यक्ष इन्द्रप्रसाद चौलागाईले कार्यालयमा ताला लगाएका छन् । लामो समयदेखि नगरपालिकाले वडा कार्यालयलाई कर्मचारीविहीन बनाएको भन्दै उनले वडा कार्यालय तालाबन्दी गरिदिएका हुन् । वडाअध्यक्ष चौलागाईँले ६७ दिनसम्म पनि पालिकाले कर्मचारी नपठाएपछि ताला लगाइदिएको बताए ।
‘आज ६७ दिन भयो, मेयर, उपमेयरलाई वडा कर्मचारीविहीन भयो भन्दा उहाँहरुले वास्ता गर्नुभएन । अब म कार्यालय बन्द गरेर त्यही नगरपालिकामै बस्छु । वडा कार्यालयमा मैले विस्कुट, चाउचाउ, चिया बेच्ने त होईन । वडा कार्यालय खोल्नु र बन्द गर्नुमा कुनै फरक नदेखिएकाले मैले ताला लगाइदिएको हुँ,’– रिपोर्टर्र्स नेपालसँग उनले भने ।
पालिकामा कर्मचारीहरु काम नपाएर बसिरहेको र वडामा आफूहरुले कर्मचारी नपाएको उनको गुनासो छ । वडाअध्यक्षले विवाह दर्ता, जन्मदर्ताजस्ता कामहरु गर्न नमिल्ने र वडा सचिव नहुँदा दुई महिनाभन्दा बढी समयदेखि काम प्रभावित भइरहेको उनले बताए । वडा सचिवको व्यवस्था नभएसम्म वडा कार्यालय नखोल्ने र आफू दैनिक पालिकामै गएर बस्ने वडाध्यक्ष चौलागाईँले बताए ।