लोप हुँदै मिठेफापर, संरक्षणमा छैन कसैको चासो



मुगु । पछिल्लो समय मुगुका किसानले परम्परागत मिठे (गुलियो) फापरखेतीमा कम महत्व दिँदा मुगुबाट गुलियो फापर लोप हुने अवस्थामा पुगेको छ ।

पहिलेको तुलनामा फापरखेतीको क्षेत्रफलमा उल्लेखनीय गिरावट आएको छ । मुगुको उच्च भू–भागमा उत्पादन गरिँदै आएको प्रचलित फापरखेती अहिले क्रमशः घट्दै गएको हो । गुलियो फापर पोषणयुक्त अन्नबालीको रूपमा चिनिन्छ र मुगुका किसानले यसलाई परम्परागत रूपमा लगाउँदै आएका थिए ।


तर आधुनिक कृषि प्रणाली र नयाँ प्रविधिको विकाससँगै किसान अब अन्य नगदे बालीतर्फ आकर्षित भएका छन् । गाउँका युवा जनशक्तिले विदेश जाने प्रचलन बढेको, बजारमा प्रतिस्पर्धा र फापरको तुलनामा अन्य बालीबाट छिटो आम्दानी हुने हुँदा किसानले फापरखेती गर्न छोडेका हुन ।

किसानका अनुसार फापरखेतीबाट राम्रो उत्पादन हुँदाहुँदै पनि यसको उचित मूल्य पाउन नसक्दा उनीहरूमा निराशा बढ्दै गएको छ । “फापर लगाएर महिनौँ कुर्यौं, तर बेच्दा लागतसमेत उठाउन गाह्रो हुन्छ”, छायाँनाथ रारा नगरपालिका–७ टोप्लाका किसान प्रभुजङ शाही बताउँछन् ।

यसरी परम्परागत खेती घट्दै जाँदा मुगुको संस्कार, पहिचान र खान्कीमा असर पर्ने चिन्ता स्थानीय समुदायमा रहेको छ । उनीहरूले सरकारसँग फापरखेती प्रवर्द्धन गर्न आवश्यक सहयोग, तालिम र बजार व्यवस्थापनको माग पनि गरेका छन् ।

विशेषगरी गुलियो फापर स्वास्थ्यका लागि अत्यन्तै लाभदायक मानिन्छ । गुलियो फापर सेवनले दम, रूघाखोकी, मुटुरोग निको पार्ने परम्परागत विश्वास हुँदा हुँदै पनि उचित संरक्षण र उत्पादनको मूल्यभन्दा लागत बढी हुँदा गुलियो फापर उत्पादनप्रति चासो घटेको किसानको धारणा छ ।

यस जिल्लाका उच्च स्थान, पिना, कोटिल्ना, मुन्दु, लिउडी, घट्टललेक, तलिलेक, रोबा, सोबा, टोप्ला, माथितुमलगायतका क्षेत्र फापरखेतीका लागि उपयुक्त स्थान मानिन्छ । हाल तिते फापर सामान्य रूपमा गरिँदै आए पनि मिठे फापरखेती फाटफुट रूपमा गर्ने गरिएको छ ।

मिठे फापरबाट ढेस्सु, लगड जस्ता स्थानीय परिकार बनाएर खाना नखाने बालबालिका, बिरामी, ज्येष्ठ नागरिकलाई पौष्टिक आहारको रूपमा खुवाइन्थ्यो भने कति पाहुना जाँदा वा घरमा पाहुना आउँदा मिठे फापर र यसबाट बनेका परिकार नासो दिइने गरिन्थ्यो । मिठे फापरको खेती हुन छोडेपछि उल्लेखित संस्कार, परम्परा र खान्कीसमेत लोप हुँदै गएको पिना गाउँका स्थानीय लोकेन्द्रबहादुर बमले बताए ।