धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशको द्रुत आर्थिक विकासका लागि राष्ट्रिय महत्त्वका योजनाहरूको निर्माणमा गति दिनुपर्ने बताएका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र श्रम तथा यातायात मन्त्रालय मधेस प्रदेशको संयुक्त आयोजनामा आज जनकपुरधाममा प्रभावकारी र दु्रत सेवाका लागि बहुसरोकारवालासँग कार्यशाला गोष्ठीमा मुख्यमन्त्री सिंहले वर्षौंसम्म योजना पूरा नहुँदा मुलुकको समग्र आर्थिक विकासमा नकारात्मक असर पारिरहेको बताएका हुन् ।
मुख्यमन्त्री सिंहले मधेसलाई सङ्घीय राजधानीसँग जोड्ने द्रुतमार्ग र हुलाकी राजमार्गको समयमा निर्माण भएको खण्डमा बर्सेनिरूपमा अर्बौंको डिजेल तथा पेट्रोलको खपतमा कमी हुने भएकाले त्यसतर्फ ध्यान दिन जरूरी रहेको बताए ।
मधेसमा विकासको धेरै सम्भावना भए पनि त्यसको खोज तथा सही व्यवस्थापन नभएका कारण मुलुकको समग्र विकासले गति नलिएको उनले बताए ।